फागुन १ गतेबाट खुल्दै मनकामना मन्दिर

काठमाडौं : गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर फागुन १ गतेबाट खुल्ने भएको छ ।

कोरोना अवधिभर बाहिरबाट नै दर्शन गरेर फर्कने गरेका थिए । मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङका अनुसार जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको नेतृत्वमा मंगलबार बसेको बैठकले कोभिड संक्रमणको अवस्था सामान्य भएसँगै यसअघि बन्द गरिएका मनकामना मन्दिर खुला गर्ने निर्णय भएको हो ।

फागनु १ गतेबाट मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालन गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न पाउने बैठकले निर्णय गरेको छ ।

मन्दिर खुलाउने निर्णय भएसँगै मनकामना मन्दिर दर्शन गर्न आउने भक्तजनहरु बढ्ने उनले बताए । गुरुङका अनुसार मनकामना मन्दिरमा दैनिक एक हजार भन्दा बढी भक्तजन मन्दिर दर्शन गर्न आउने गर्दछन् । बिदाको दिन अझ यो संख्या बढी हुन्छ ।

कोभिड जोखिम रहेता पनि मनकामना केवलकार भने संचालनमा रहेका छन् । मनकामनाका स्थानीयहरु आउजाउ गर्न र मन्दिर बाहिरबाट पूजापाठ गर्ने भक्तजनको सजिलोका लागि केबलकार नियमित संचालनमा रहेको बताइएको छ ।