
काठमाडाैं । हरेक कुराको उत्पादन माग र आपूर्तिका आधारमा हुने कुरालाई स्वीकार गर्ने हो भने गाँजा खेतीलाई व्यवसायका रूपमा हेरिनुपर्छ। तर, कानुनी प्रावधान र परिणामलाई हेर्ने हो भने गाँजा खेती लागुऔषधका रूपमा परिभाषित हुँदै आएको छ। यसको खपत गाउँघरमा भन्दा पनि शहरी क्षेत्रमा बढी हुने गरेको छ।

राजधानी शहर काठमाडौंसहित ठूला शहर रहेको नेपालको प्रदेश ५ मा गाँजा बढी बरामद हुने गरेको छ । बरामदका हिसाबले यो प्रदेश पहिलो स्थानमा पर्छ। बाक्लो जनसंख्या, बढ्दो शहरीकरण तथा बेरोजगारीको संख्यामा वृद्धिका कारण मानिस दिन प्रतिदिन गाँजाको लतमा रम्दै र झुम्दै जान थालेका छन् ।



ठूला तारे होटलदेखि रिसोर्ट र नास्ता पसलसम्म गाँजाले राम्रै पकड जमाएको छ। अहिलेको अवस्थासम्म आउँदा गाँजा केहीका लागि आर्थिक आय आर्जनको स्रोत बनिसकेको छ। सरकारले यसलाई कानुनी मान्यता नदिए पनि माग र आपूर्तिका हिसाबले यसले राम्रो बजार लिरहेको देखिन्छ। यसलाई नियन्त्रण गर्न अब ‘गैरकानुनी’, ‘लागुऔषध’ वा ‘दण्डनीय’ भनेर मात्र पुग्दैन। यसको कानुनी तथा व्यावहारिक व्यवस्थापन जरुरी छ।

उदाहरणका रूपमा नेपालमा बहुमूल्य पत्थर हिराको व्यापार र व्यवसायका बारेमा सरकार अझै पनि अनभिज्ञ छ । हिरा व्यापारका लागि न कानुन बनाइएको छ, न त यसलाई व्यवहारतः नियमन र नियन्त्रण नै गर्न सकिएको छ बरु यसको व्यापार निरन्तर रूपमा ‘भूमिगत व्यापार’का रूपमा फैलिइरहेको छ । सुन, चाँदीलगायतका बहुमूल्य धातुहरूको नियमन र व्यवस्थापन भइसक्दा पनि बहुमूल्य पत्थर हिराका बारेमा सरकार अनभिज्ञ रहेझैँ गाँजाका बारेमा पनि कानुन अभावका कारण सरकार न नियमनमा उत्रिन सकेको छ, न त यसलाई नियन्त्रण गर्न नै सक्षम देखिन्छ बरु यसको अवैधानिक व्यापार फस्टाइरहेको छ।
यसमा सरकारको नेपाली मौलिकतामा स्पष्ट नीति र कानुन नहुनुले पनि काम गरिरहेको छ। कतैकतै त दोहोरो मापदण्डका कारण पनि यसो हुन गएको छ। देशभित्र घरेलु मदिरा उत्पादनका लागि प्रतिबन्ध लगाइएको छ तर विदेशी रेड लेबलसहितका मदिरा बजारमा प्रशस्त छन्। तर, ती क्षेत्रहरूलाई सरकारले ‘मदिरा निषेधित क्षेत्र’ वा ‘मदिरामुक्त क्षेत्र’ घोषणा गरिरहेको छ। यो सर्वसाधरण जनताका नाङ्गा आँखाले देखिरहेको यथार्थ हो। त्यसैले जनताले सरकार र सरकारी निकायले गर्ने र गरिरहेका व्यवहारमा स्पष्ट रूपमा दोहोरो चरित्र देखिरहेका छन्।
यसले राज्यका नियम तथा कानुनको पालना होइन, उल्टै विद्रोह गरी अघि बढ्न नकारात्मक रूपमा प्रेरित गरिरहन्छ। जनतामा प्रतिशोधको भावना जगाइरहन्छ। त्यसैले नेपाली मौलिकतामा के कुरा नियमन र व्यवस्थापन गरिनु जरुरी छ, त्यसबारेमा सरकार स्पष्ट हुनुपर्छ। विदेशी पर्यटकहरूले गाँजा प्रयोग गर्दै आएका छन्। विदेशबाट गाँजा कालोबजारीमा आयात गर्नुभन्दा स्वदेशी उत्पादन नै प्रयोग गर्नुमा नेपाली व्यापारीहरूका लागि फाइदाजनक छ । अर्कोतिर, जनताका लागि गाँजा खेती बाध्यात्मक आयस्रोत पनि बनिरहेको छ । त्यसैले गाँजा उत्पादन र बिक्री वितरणमा कानुनी व्यवस्थापन जरुरी देखिएको छ ।