
१५ फागुन : पाकिस्तान र अफगानिस्तानबीचको एक प्रमुख सीमा नाका फेरि खोलिएको छ ।
सुरक्षाबलहरूबीचको झडपमा कम्तीमा तीन जनाको मृत्यु भएको एक दिनपछि सो सीमा नाका खोलिएको अधिकारीहरूले आइतबार जनाएका छन् ।
गत वर्ष तालिबान सत्तामा आएपछि छिमेकीहरूबीच सीमा तनाव बढेको छ ।
पाकिस्तानले आतङ्कवादी समूहहरूले अफगान भूमिबाट आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ । तालिबानले पाकिस्तानी लडाकूहरूलाई शरण दिएको अस्वीकार गर्छन् ।
पाकिस्तानको अर्धसैनिक सीमा बलका प्रवक्ताले एएफपीलाई भने, “सबै किसिमका गतिविधिका लागि सीमा फेरि खोलिएको छ ।“
एक सुरक्षा स्रोतले पाकिस्तानी अधिकारी र अफगानिस्तानको कान्दाहार प्रान्तका गभर्नरबीचको “सफल वार्ता“ पछि नाका खोलिएको जनाएको छ ।
गभर्नरका प्रवक्ता महमूद आजमले सीमा नाका फेरि खोलिएको पुष्टि गरेका छन् ।