तनहुँ आगलागीमा करोडौँका घर जले

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट करोडौँको क्षति भएको प्रहरीले जनाएको छ । भूपाल हार्डवेयर पसलबाट अचानक सुरु भएको आगलागी अन्यत्र पनि फैलिएको थियो । आगलागीबाट भूपाल हार्डवेयर पसल र गोदाम पूर्ण रूपमा क्षति भएको छ । यस्तै वरपरका अन्य ९ वटा घर आंशिक रूपमा क्षति भएको छ भने तनहुँसुर मिनि मार्केटको अगाडिको २ वटा सटरहरूमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ । प्रहरीले दिएको जानकारीअनुसार तनहुँ व्यास नगरपालिका–४ बस्ने भूपाल आलेले सञ्चालन गरेको हार्डवेयर पसल र गोदाम पूर्ण रूपमा क्षति भएको छ । सोही स्थानका ज्योतीकुमार श्रेष्ठको ३ तले पक्की घरको पछाडिको भाग आंशिक र गोदाम पूर्ण रूपमा नष्ट भएको छ । यसैगरी, बलराम रानाको ३ तले पक्की घरको पछाडि १ साइड जली आंशिक रूपमा क्षति भएको छ ।

कृष्णबहादुर थापाले सञ्चालन गरेको तनहुँसुर मिनी मार्केटको अगाडि २ वटा सटर आंशिक क्षति, होम बहादुर गुरुङको ३ तले पक्की घरको पछाडि भागको झ्याल ढोकालगायत घरको गारोमा समेत क्षति, राममाया गुरुङको ३ तले पक्की घर घरको पछाडि भागको झ्याल ढोकालगायत घरको गारोमा समेत क्षति, लालबहादुर गुरुङको ४ तले पक्की घरको पछाडिको भाग झ्याल ढोका जली आंशिक रूपमा क्षति भएको जनाइएको छ ।

त्यस्तै, लिलबहादुर बिकको २ तले पक्कीघरको पछाडिको झ्यालको चौकास जली आंशिक रूपमा क्षति भएको छ । नविन गुरुङको ४ तले पक्की घरको पछाडिको झ्याल ढोका जली आंशिक रूपमा क्षति भएको, दिपककुमार श्रेष्ठको ३ तले पक्की घरको पछाडिको झ्यालको सिसा फुटी क्षति भएको र वीरदेव धमेलको ३ तले पक्की घरको पछाडि झ्यालको चौकास सामान्य रूपमा जलि क्षति भएको प्रहरीले जानकारी दिएको छ ।