
एजेन्सी । उत्तर कोरियाले गरेको अज्ञात क्षेप्यास्त्रुको परीक्षण असफल भएको दाबी दक्षिण कोरियाले गरेको छ । दक्षिण कोरियाली सेनाले जनाए अनुसार उक्त क्षेप्यास्त्र परीक्षण असफल भएको हो। राजधानी प्योङ्याङको बाहिर रहेको क्षेत्रबाट सो क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरिएको छ।
सो स्थानबाट यसअघि पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो जसमध्ये अन्तर्महादेशीय क्षेप्यास्त्र भएको अमेरिकाले दाबी गरेको थियो। बुधवारको परीक्षण हालैका दिनमा उत्तर कोरियाले हतियार परीक्षण तीव्र पारेको अवस्थामा भएको छ।
उत्तर कोरियाले सुनान क्षेत्रबाट आज ९:३० मा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको थियो तर त्यो प्रहार लगत्तै असफल भएको देखिएको छ, सोलका संयुक्त सैन्य बल प्रमुखले एक वक्तव्यमा भनेको बीबीसीले जनाएको छ।
प्योङ्याङ प्रत्यक्षदर्शीले सुरुमा ठूलो विमानको झैँ आवाज सुनेको र लगत्तै पड्किएकोु जस्तो आवाज आएको बताएको एनके न्यूजले जनाएको छ। यसक्रममा राजधानीको आकाशमा रातो रंग देखिने धुवाँको मुस्लो देखिएको पनि समाचारमा जनाइएको छ।
एनके न्यूजसँग विज्ञ अंकित पान्डाले अहिलेको परीक्षण को दृश्य पनि असफलताको जस्तै देखिएको बताउँदै रातो खालको पहेँलो धुवाँ तरल इन्धनको हुने र त्यो मानिसका लागि विषालु हुने बताएको बीबीसीले उल्लेख गरेको छ।
उत्तर कोरियाले यो वर्ष मात्रै नौ पटक हतियार परीक्षण गरेको छ। त्यसमा नयाँ अन्तर्महादेशीय क्षेप्यास्त्रको अंश पनि रहेको अमेरिकी दाबी छ। अमेरिकाले उत्तर कोरियाले त्यसलाई अन्तर्महादेशीय क्षेप्यास्त्रको पूर्ण परीक्षणअघि आंशिक प्रयोगात्मक परीक्षण हुनसक्ने बताएको छ ।
कम्तीमा ५,५०० किलोमिटर दूरीको क्षमता भएको अन्तर्महादेशीय क्षेप्यास्त्र उत्तर कोरियाबाट अमेरिकासम्म पुग्न सक्छ र त्यसले पारमाणविक अस्त्र बोक्न सक्छ । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई लामो दूरी र पारमाणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको भए पनि उत्तरले यसलाई निरन्तरता दिइरहेको छ ।