रुस-युक्रेन युद्धले ४ करोडबढी मानिसलाई चरम गरिबीतर्फ धकेल्ने

एजेन्सी । रुस युक्रेनबीचको जारी युद्धले ४ करोडबढी मानिसलाई चरम गरिबीतर्फ धकेल्ने अमेरिकी थिंक ट्याङ्कले चेतावनी दिएको छ ।

अमेरिकी थिंक ट्याङ्क, ‘सेन्टर फर ग्लोबल डेभलपमेन्ट (सिजिडी)’ले अहिले जुन तरिकाले मूल्यवृद्धि भइरहेको छ, त्यसले विश्वभरका करिब ४ करोड मानिसलाई चरम गरिबीमा धकेल्ने चेतावनी दिएको हो ।

युक्रेनमा रुसको आक्रमणले विश्वलाई नै असर गरिरहेको छ । २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि वैश्विक खाद्य र ऊर्जाको मूल्य आकाशिएको हो ।

सिजिडीले पूर्व सोभियत क्षेत्र कृषि व्यापारको लागि कसरी महत्त्वपूर्ण छ भनेर पनि औंल्याउँछ। रुस र युक्रेनले विश्वको २९ प्रतिशत गहुँ उत्पादन गर्दछन् । विश्वमा उत्पादित कुल मलको छैटौं भाग रुस र बेलारुसबाट आउँछ।

थिंक ट्याङ्कले युद्धको प्रभाव व्यापक रूपमा महसुस हुने तर गरिब देशहरूमा बढी असर पर्ने बताएको छ । सिजिडी विज्ञहरूले जी-२० ले पनि आफ्ना बजारहरू खुला राख्नु पर्ने र उनीहरूमाथि कुनै प्रतिबन्ध लगाउन नहुने सल्लाह दिइरहेका छन् ।