पाकिस्तानका १५५ सांसदद्वारा राजीनामा

इस्लामावाद : पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी – पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा मतदान हुनु अगाडि उनीहरूले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिष्कार गरेका छन्। जनताको भावनाविपरीत विदेशीको इसारामा आफूलाई हटाइएको भन्दै खानले आफूहरू अब संसद्मा बस्न नसक्ने बताएका हुन्।

विदेशीको इसारामा चल्ने राष्ट्रघाती संसद्हरू र राष्ट्रवादी आफ्नो पार्टीका संसद्हरू संसद्मा सँगै बस्न नसक्ने भएकाले राजीनामा दिनु परेको उनको भनाइ छ।

उनले अबजनताको बीचमा गएर निर्वाचनबाट फेरि निर्वाचित भएर आउने अठोट पनि गरेका छन्।

आफूले विघटन गरेको संसद्लाई अदालतले ल्याइदिएपछि थप नैतिक सङ्कटमा परेका नेता खानले विघटन गरेको संसद्‌मा फर्किनु उपयुक्त नहुने ठानेर राजीनामा दिएका बताएका छन्।

उनको पार्टीका सबै सांसदहरुले राजीनामा दिएपछि बहुमतका साथ विपक्षी दलका नेता शेहबाज शरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। उनले नयाँ मन्त्रिमण्डल बनाएर सरकारलाई प्रभावकारी तरिकाले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन‍्।

पाकिस्तानको नयाँ सरकारलाई राजनीतिक सङ्कटसँगै आर्थिक सङ्कट पनि सामना गर्नुपर्ने अवस्था रहेको छ।