
काठमाडौं । तराई मधेस केन्द्रित र राजतन्त्रवादी शक्तिले अघिल्लो निर्वाचनमा विजय हासिल गरेका महानगर र उपमहानगरमा पाँच दलीय गठबन्धनको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले मेयर र उपमेयर पाउनु पर्ने दावी प्रस्तुत गरिरहेको छ।
पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरको भागबन्डा केन्द्रबाट गर्ने निर्णय भईरहेको बेला तराई मधेस केन्द्रित राजनीतिक दल र राजतन्त्रवादी शक्तिले विजयी हासिल गरेका स्थानमा कांग्रेसले दावी प्रस्तुत गरिरहेको हो।
राजतन्त्रवादी शक्ति तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विजयी हासिल गरेको बाँकेस्थित नेपालगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसले दावी नछाडेपछि जनता समाजवादी पार्टी (जसपा नेपाल) गठबन्धनवाट नै बाहिरिएको छ। जसपा नेपाल जिल्ला अध्यक्ष कमरुद्धिन राईले जसपालाई नेपालगञ्ज छाड्न कांग्रेसले नमान्दा गठबन्धनवाट बाहिरिनु परेको जनाएका छन्।
उनका अनुसार नेपालगञ्जमा अब जसपा नेपालले एक्लै निर्वाचन लड्नेछ। राप्रपाबाट विजयी मेयर धवलशमशेर राणाले पुनः उम्मेदवारी नदिने घोषणा गरेको तथा नेकपा एमालेबाट नवप्रवेशी पशुपतिदयाल मिश्र मेयरको उम्मेदवार भएपछि गठबन्धनभित्र मुख्यतः जसपा र कांग्रेसबीचमा मनमुटाव हुन पुगेको हो।
उता, पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णयअनुसार पर्सास्थित वीरगञ्ज महानगरपालिका जसपालाई दिने ‘सैद्धान्तिक सहमति’ भए पछि कांग्रेसको स्थानीय नगर कमिटी बिच्किन पुगेको छ।
वीरगञ्ज महानगर समितिका सभापति मनिन्द्रलाल श्रेष्ठले वीरगञ्जमा कांग्रेसको स्वभाविक दावी रहेको उल्लेख गर्दै पाँच दलीय गठबन्धनबाट बाहिरिएर एक्लै निर्वाचनमा जाने निर्णय गराइसकेका छन्। केन्द्रीय निर्णयअनुसार गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा वीरगञ्ज महानगरका ३२ वटै वडाबाट गठबन्धनको विपक्षमा सुझाव आएको उल्लेख गर्दै महानगर सभापति श्रेष्ठले कांग्रेसले एकल उम्मेदवारी दिने घोषणा गरेका छन् । जसकाकारण जसपाले जितेको स्थानमा कांग्रेसको दावी स्पष्ट देखिएको छ।
तत्कालिन जसपा नेपालबाट निर्वाचित मेयर विजय सरागवी एमाले प्रवेश गरे पनि गठबन्धनको केन्द्रिय सहमतिअनुसार सो स्थानमा जसपाको नै भागबन्डामा परेको छ । तर, जसपाको भागबन्डामा परेको कांग्रेसले मेयर र उपमेयरमा दावी गर्दै सोअनुसार दिन गठबन्धनका अन्य दल तयार नभएको खण्डमा गठबन्धन नै नगर्ने निर्णय गराएर दबाब बढाइसकेको छ।
तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालले विजयी हासिल गरेको जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसले दावी गरेको छ। हाल महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा नेपाल०ले नेतृत्व गरेको जनकपुरधाममा कांग्रेसले दावी गर्दै नपाएको खण्डमा एकल रुपमा उम्मेदवारी दर्ता गराउने भएको छ।
नगर समितिका सभापति मनोजकुमार साहका अनुसार पाँच दलीय गठबन्धनको राजनीतिक संयन्त्रमा जनकपुरधाम कांग्रेसले पाउनु पर्ने दावी प्रस्तुत गरिसकेका छन्। ‘वडा अध्यक्ष र सदस्यमा गठबन्धन आवद्ध दलका बीचमा सहमति गरेर जान सकिने भए पनि मेयर र उपमेयर भने कांग्रेसले पाउनु पर्छ,’ साहले भनेका छन्, ‘यदि हँुदैन भने जनकपुरमा मेयर उपमेयरसहित २५ वटै वडामा कांग्रेसले एकल उम्मेदवारी दिनेछ, हामीलाई जित्न गठबन्धन चाहिँदैन्।’ जनकपुरमा अझैसम्म मेयर र उपमेयरको उम्मेदवारी घोषणा भइसकेको अवस्था छैन।