बारामा एमालेका दुई पक्षबिच झडप हुँदा ६ जना घाइते

वीरगञ्ज । बारामा एमालेको दुई पक्षबीच झडप भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२३ मा नेकपा एमालेका दुई पक्षबीच झडप हुँदा ६ जना घाइते भएका छन् । वडाध्यक्ष असलम देवान र वडाध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको प्रहरीले जानकारी दिएको छ ।

दुई पक्षबीच भएको झडपमा वडाध्यक्ष देवानसहित ६ जना घाइते भएका छन् । झडपमा परी वडाध्यक्ष देवान, नासिर र नाजिर देवान घाइते भएका हुन् । उनीहरूको नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

मुस्तकिम पक्षका चाँद महम्मद, अनु आरुल महम्मद र मुस्ताक अन्सारी पनि घाइते भएका छन् । उनीहरूको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । बसरुदिन मिया, लाल महम्मद र अनिल महम्मदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाटोको विषयमा विवाद हुँदा उनीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।