
काठमाडौ। नयाँ भ्रम सुरु भएको छ । पैसा बढी भन्यो भने वजन बढ्छ भन्ने भ्रम । हुँदाहुँदा पुष्प खड्कामा पनि यो भ्रमको राम्रै बोट उम्रिएछ । यसको झल्को पाइयो, यसै हप्ता जब उनले फिल्ममा अभिनय गर्न ३० लाख रुपैयाँ मागेको खबर बाहिरियो ।
अनमोल केसीको पारिश्रमिक घटाउन बहस चलिरहेका बेला पुष्पले मागेको यो पारिश्रमिक उद्योगका लागि सानोतिनो भुइँचालो थिएन । धेरैलाई त पुष्पले यत्रो पैसा मागेको समाचार नै गलत होजस्तो लागेको थियो । तर, समाचारमा पुष्पले आफूले मागेको कबोल गरेपछि शंकाको ठाउँ रहेन । पुष्पलाई यत्रो पैसा माग्ने आँट कहाँबाट आयो, धेरैले अझै बुझ्न सकेका छैनन् ।
‘अझै पनि’बाट सहायक भूमिकामा डेब्यू गरेका पुष्पले ‘दर्पणछायाँ २’ मा हिरोको भूमिका पाए । तुलसी घिमिरेको निर्देशन अनि इतिहासकै एक सफल फिल्मको शृंखला । तर, फिल्म नराम्ररी असफल भयो । यसपछि सार्वजनिक भएको ‘मंगलम्’मा पुष्पको कामको त तारिफ भयो तर निर्माताको हात रित्तै ।
यही फिल्मपछि वर्षको एउटा फिल्म बनाउँदै आएका छवि ओझाले फिल्म बनाउने आँट गरेका छैनन् । रिलिज भएका दुइटा फिल्म दुइटै घाटामा अनि पुष्पलाई चाहिँ निर्माताले के खान ३० लाख दिने ? पुष्पलाई कति चाँडो ओइलिने मति आएको ?