
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र पुनर्स्थापना माग जोडदार रुपमा उठाईरहेको छ । त्यसको लागि राप्रपाले देशभर हस्ताक्षर संकलन अभियान संचालन गरिरहेको छ । उक्त अभियानमा उत्साहजनक सहभागिता रहेको राप्रपाले जनाएको छ ।
८१ प्रतिशत हिन्दुहरु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दबाव दिन राप्रपाले देशभर हस्ताक्षर संकलन अभियान गरिरहेको हो । उक्त अभियानमा धेरैभन्दा धेरैले हस्ताक्षर गरेका छन् ।
मकवानपुरमा भने रोचक प्रशंग देखिएको छ । हिन्दु राष्ट्र पुर्नस्थापना अभियानमा मुस्लिम र बौद्ध समुदायका मानिसहरुले पनि हस्ताक्षर गरेका छन् । बौद्ध र मुस्लिम धर्मावलम्बीहरूले उक्त अभियानलाई समर्थन गर्दै हस्ताक्षर गरेको राप्रपाले जनाएको छ ।
संकलन गरिएको सो हस्ताक्षर आगामी चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने राप्रपाको योजना छ । राप्रपाले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र पुनस्थापनाका लागि दवाव दिन सरकारलाई ज्ञापन पत्र बुझाउनका लागि मेची–महाकाली अभियान पनि संचालन गरेको थियो ।