कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।बैठक शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

 पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ । सत्ता गठबन्धनको बैठकमा बुधबार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर, विराटनगरमा मेयर पाउने सहमति भएको थियो। त्यस्तै, भरतपुर, पोखरा र वीरगञ्जमा कांग्रेसले उपमेयर पाउनेछ। 

काठमाडौंमा मेयरका लागि नगर समितिले बिहीबार नाम सिफारिस गरेको छ। ललितपुरमा र विराटनगरबाट पनि यसअघि नै सिफारिस भइसकेको छ। कुनै पनि महानगरबाट एक जना मात्र उम्मेदवारको नाम सिफारिस भएको छैन। जसले गर्दा उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस छ।