ओलीको गृहनगर दमकमा एमालेविरुद्व राप्रपा पनि गठबन्धनमा

दमक — राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपा पनि झापामा गठबन्धनको चुनावी तालमेलमा सहभागी बनेको छ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले नगर प्रमुखको उम्मेद्वार सहित दुई वटा वडाध्यक्ष पाउनुपर्ने शर्तसहित तालमेलमा सहभागी भएको हो ।

नेपाली काँग्रेससहितको गठबन्धनबाट थापा नगर प्रमुखमा र माओवादी केन्द्रका नेता गगन पुरी उपप्रमुखको उम्मेद्वार बन्नु भएको छ ।

यसभन्दा अघि भएको पहिलो स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा राम थापाले दोश्रो र गगन पुरीले तेश्रो स्थान पाउनुभएको थियो ।

नगर प्रमुखमा नेकपा एमालेका रोमनाथ ओली विजय बनेका थिए ।

दमकमा राप्रपामा राजनीतिक हैसियत दोश्रो ठूलो दलको रहेको छ ।

अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रले नगरपालिकामा कुनै पनि वार्डमा नजिते पनि राप्रपाले दुईवटा वडाध्यक्ष जितेको थियो ।

गठबन्धनले राप्रपालाई ती जितेका दुई वटै वार्ड छाडेको छ ।

वडा नं. १ र ७ राप्रपालाई नै छाडेको हो । ती दुई वार्डमा पुरानै वडाध्यक्ष उठ्दैछन् ।

राप्रपालाई प्रमुखसहित दुई वटा वडा, माओवादीलाई उपप्रमुखसहित दुई वटा वडा र काँग्रेसलाई छ वटा वडा तथा जसपा, नेकपा एकीकृत समाजवादीलगायतका दलहरुलाई वडा सदस्य तथा कार्यपालिकामा मनोनयन गर्ने गरी सहमति भएको बताइएको छ ।

यद्यपि यसभन्दा अघि नै जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले दमकमा आफ्नै उम्मेद्वार उठाउने सार्वजनिक गरिसकेका छन् ।