
सफलता हासिल गर्नका लागि मिहिनेत, हिम्मत र लगनशीलताको जरुरी हुन्छ । धेरैपटक असफल हुँदा पनि परिश्रम जारी राख्नु नै सफलताको मूलमन्त्र हो ।
यही मन्त्र पछ्याएर भारतीय सिनेमामा रवि किशनले एक अलग पहिचान बनाएका छन् । विशेषगरी, भोजपुरी सिनेमामा उनको प्रसिद्धि ठूलो छ । उनी अहिले राजनीतिमा पनि सफल भइसकेका छन् र भारतीय जनता पार्टीबाट सांसद् बनिसके ।
आफ्ना संघर्षका दिनहरुमा रवि किशन बिहानै उठ्थे र राती बेलुकीसम्म काम गर्थे । दिनभर मिहिनत गरेर घर फर्कँदा उनी थाकिसकेका हुन्थे । घरको आर्थिक अवस्था राम्रो थिएन, तर पनि उनका बाबुले अगाडि बढ्नका लागि हौसला दिने गरेका थिए ।
मिडिया रिपोर्ट अनुसार रवि किशनकी छोरीको जन्म हुँदा अस्पतालमा तिर्ने पैसा पनि उनीसँग थिएन । त्यहीकारण उनकी पत्नी र छोरीलाई डिस्चार्ज गर्न अस्पतालले मानेन । यसपछि उनले आफ्नो खेत धरौटी राखे । त्यसपछि ब्याजमा कर्जा लिएर छोरीलाई घर लिएर आए ।
रवि किशनले एक पुरानो अन्तर्वार्तामा भनेका छन् कि उनी बाल्यकालमा रामलीलामा सीता बनेर अभिनय गर्दथे । तर परिवारका सदस्यहरुलाई यस्तो अभिनय मन परेको थिएन । त्यहीकारण उनले घरमा पिटाई समेत खानुपरेको थियो । अभिनयको अम्मली भएकैले उनले बाल्यकालमा घर छाड्ने फैसला पनि लिएका थिए । सन् १९९२ मा पिताम्बर फिल्ममार्फत् उनले सिनेमा यात्रा सुरु गरेका थिए ।