टिकट बाँड्दा कुटाकुट : १० जना घाइते

जनकपुरधाम : आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धन आवद्ध अन्य दलहरूलाई उम्मेदवार छनोट गर्न सकस भइरहेको समयमा जनता समाजवादी पार्टीमा टिकट वितरणलाई लिएर कुटाकुट भएको छ ।

आइतबार बिहान जनकपुरधामस्थित होटेल राजदरवारमा बसेको बैठकमा टिकट वितरण विषयमा भएको विवादले उग्र रूप लिँदा नेता तथा कार्यकर्ताबीच कुटाकुट भएको हो ।

कुटपिटका क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपा निकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादवसहित १० जना नेता तथा कार्यकर्ताहरु घाइते भएको जसपा धनुषाले जनाएको छ । उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।

स्रोतका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर समेत रहको रामबाबु यादव, हँसपुर नगरपालिकाको टिकटका लागि रामनारायण कापडी र शहिदनगर नगरपालिकाको टिकटका लागि बरुण यादवले नपाएको भन्दै आक्रोशित समर्थकहरूले विवाद निकाल्दै नेतामाथि हातपात गरेका थिए ।

मधेश प्रदेशभरकै पालिकामा उम्मेदवारी छनोट निष्कर्षमा पुर्‍याउन बिहानदेखि बसेको बैठकस्थलमा आएर आकांक्षी उम्मेदवारहरूले टिकटका लागि नेताहरूलाई दबाब दिँदै आएका थिए ।

तर, नेताहरूले उनीहरूलाई टिकट नदिई अरूलाई दिएको भन्दै आक्रोशित कार्यकर्ताहरूको भीडले बैठकमा बसेका संघ सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव र गजाधर रोहिता यादव लगायतका शीर्ष नेताहरूको समेत उपस्थितिमा भइरहेको बैठकमा कुटपिट गरेका थिए।