
काठमाडौं । भारतबाट सलह कीराको ठूलो झुण्ड नेपाल प्रवेश गरेका कारण सीमावर्ती क्षेत्रका किसानलाई सतर्क गराउने काम भइरहेको छ ।

भारतको विहार तथा युपी क्षेत्रमा किसानको बाली क्षति गरिरहेको र त्यसैमध्ये केही झुण्ड नेपाल भित्रिएको हो । कीराको ठूलो झुण्ड भित्रिएसँगै किसानको बाली क्षति गर्न सक्छ कि भनेर सतर्क गराउनुका साथै प्रदेश तथा स्थानीय तहका कृषि प्राविधिकहरुलाई सक्रिय पारिएको बताइएको छ ।



सहलको बारेमा जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गठन गरेको सूचना केन्द्रमा रहेका रामकृष्ण सुवेदीले भने, ‘हिजो साँझ भारतबाट ठूलो झुण्ड कपिलवस्तु छिरेको खबर हामीलाई प्राप्त भएको छ । कपिलवस्तुको मौसम खराब भएको कारणले त्यति उडेको देखिएको छैन । पिपलको बोटमा बसेको छ, त्यसैबाट केही टुक्रा अरु ठाउँ पनि उडेर गएको अनुमान पनि गरिएको छ ।’

त्यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको बताउँदै उनले मौसमका कारण बालीमा नोक्सान गर्न सक्ने बताए ।
प्लान्ट क्वारिन्टिन था विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत एवं सलह नियन्त्रण तथा रोकथामका लागि गठन भएको प्राविधिक कार्यदलका सदस्य महेशचन्द्र आचार्यले पनि भारतबाट सलह कीरा प्रवेश गरेको खबर प्राप्त भएको बताए । तर, त्यो कहाँ कहाँ पुगेको छ भन्ने एकीन गर्न नसकेको भन्दै ट्रेसिङ गर्ने कार्य भइरहेको बताए ।
हिजो कपिलवस्तुको तौलिहवा र सिन्धुलीको सन्धीखर्कको आकाशमा उडेको भेटिएको खबर आएको भन्दै उनले अहिले त्यो झुण्ड कहाँ गएको छ भन्ने जानकारी पाउन नसकेको बताए ।
भारतको विहारस्थित सीमा क्षेत्रमा सलह कीराले त्यहाँको किसानको बाली नोक्सान गरेको सूचना पनि आफूहरुले प्राप्त गरेको बताउँदै नेपालको सीमा क्षेत्रमा किसानलाई सतर्क रहन पनि सचेत गराएको बताए ।
भारततर्फको सीमा क्षेत्रमा ठूलो झुण्ड आएको र त्यहाँको बालीलाई नोक्सानी गरिरहेको छ भने कुनै पनि बेला नेपाल पस्न सक्छ भनेर सबैतिर अलर्ट रहन भनिएको बताउँदै उनले विहारको पूर्वी चम्पारणमा बाली नोक्सान गरिरहेको सलह कीरालाई नियन्त्रण गर्ने प्रयास त्यहाँको सरकारले गरिरहेको सूचना प्राप्त भएको बताए ।
भारतको अन्य कुन कुन ठाउँमा सहल पुगेको छ त्यसको बारेमा पनि आफूहरुले जानकारी लिइरहेको उनले बताए ।