लिउको भ्रमण तालिका : आज प्रचण्डसँग ‘डिनर’, मंगलबार ओलीसँग बालकोटमा ‘लन्च’

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी  (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयको भ्रमणमा जाँदै छन।चार दिने भ्रमणमा आइतबार नेपाल आएका विदेश विभाग प्रमुख लिउले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग साँझ सोल्टी होटेलमा भेटघाट गर्ने छन् । परराष्ट्रका एक अधिकारीका अनुसार त्यहाँ उनीहरु रात्रिभोजमा सरिक हुनेछन् ।

मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा ‘लन्च’ मिटिङ गर्ने लिउले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार मात्रै भेटेपछि उनी स्वदेश फर्कनेछन्। लिउले आइतबार दिउँसो कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेटवार्ता गर्दै नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको प्रस्ट पारेका थिए।