
For advertisement: [email protected]
काठमाडौं : दैनिक घन्टौसम्म छोराछोरी मोबाइल ग्याममा रमाउन थालेपछि अभिभावक आजित भएर प्रहरी गुर्हान पुगेका छन्।
आधुनिक बन्दुक प्रयोग गरेर युद्ध खेल्ने भिडियो गेम प्लेयर अन्नोन ब्याटल ग्राउन्ड (पब्जी) मै मात्र छोराछोरीले ध्यान दिन थालेपछि राजधानीका केही अभिभावकले प्रहरीसँग गुहार मागेका हुन्। पब्जीकै कारण राति सुत्दा बच्चा भर्भराउने समस्या डरलाग्दो रुपमा देखिएपछि यसलाई गेम बन्द गराउन माग गर्दै अभिभावक प्रहरीसम्म पुगेका हुन्।
आइतबार महानगरीय प्रहरी अपराध महाशाखामा तीन अभिभावक यस्तै गुनासो लिएर पुगे। उनीहरुले महाशाखा प्रमुख एसएसपी धीरज प्रताप सिंहलाई भेटेर पब्जी गेम बन्द गराउने उपाय खोज्न अनुरोध गरे।
बसुन्धरा बस्ने एक महिलाले भनिन्, ‘छोरा भर्खर १२ वर्षको भयो, मोबाइल एक छिन पनि छाड्दैन। राति एकाएक हान्, मार्, मर्यो जस्ता आवाजले भर्भराउन थाल्यो। के रहेछ भनेर बुझ्दा पब्जी गेम खेलेर रहेछ। यसलाई हटाउन सकिंदैन ?’पब्जी गेमका सीडीसमेत बजारमा बेच्न प्रतिबन्ध लगाउनुपर्ने उनको माग गरिन्।
जवाफमा एसएसपी सिंहले यो गेम बन्द गराउन धेरै अभिभावकले गुनासो गरेकाले बन्द गराउन प्रहरीले प्रक्रिया थालेको बताए।
महाशाखामा पब्जीले बालबालिकाको मस्तिष्कमा नराम्रो असर गरेको भन्दै यसलाई बन्द गराउन धेरै अभिभावकले गुनासो गरेको जानकारी सिंहले दिए। भने, ‘आधा रातमा बच्चा भर्भराउन थालेको गुनासो आयो। सानैमा मोबाइलप्रति बढी क्रेज भएकाले यसले पठनपाठनमा समेत असर गरेको अभिभावकले बताएका छन्। हामी बन्द गराउने तयारीमा छौं।’
लाइभ च्याट गरेरै खेल्न मिल्ने पब्जीमा एक पटकमा ६ जना भन्दा बढी खेल्न मिल्छ। बालबालिकादेखि किशोराकिशोरी समेत पब्जीमा रमाउने गरेका छन्।
एन्ड्रोइड मोबाइलमा पब्जी गेम डाउनलोड गर्ने १० करोड बढी नाघिसकेका छन्। एसएसपी सिंहले यो गेमले बालबालिकामा हिंसाको भावना जगाउने गरेको गुनासो प्रहरीमा आउने गरेको बताए।
नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी पब्जीले बालबालिका र किशोरमा नकारात्मक प्रभावको गहिरो छाप रहने।‘यो गेमले बालबालिका र किशोराकिशोरीलाई सक्रिय बनायो’, उनले भने, ‘हामीलाई पनि धेरै गुनासो आएका छन्।’