
दमक / खानेपानी मन्त्रालयको बजेटमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राख्दै आएको माग पनि समेटिएको छ ।

मन्त्रालयको बजेटमा धरान उपमहानगरपालिकामा कोशी नदीको पानी लैजाने योजना परेको हो ।
यसका लागि संघीय रूपमा कार्यान्वयन हुनेगरी सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको छ । कोशीको पानी ल्याउन संघीय सरकारले पैसा दिनुपर्ने भन्दै साम्पाङ केही महिनाअघि रित्तो गाग्री बोकेर काठमाडौँ गएका थिए ।



त्यतिबेला उनले सिंहदरबारमा गएर सम्बन्धित मन्त्री र अधिकारीहरूलाई भेटेर ध्यानाकर्षण गराएका थिए । त्यतिबेला दिइएको आश्वासनअनुसार मन्त्रालयमार्फत बजेट विनियोजन गरिएको हो ।

मन्त्रालय अन्तर्गत आगामी वर्ष कुल १० अर्ब ६६ करोड रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन हुने भएको छ । संघीय कार्यक्रम अन्तर्गत सञ्चालन हुने साढे ५ सयभन्दा बढी आयोजना लागि सो बराबरको रकम विनियोजन गरिएको हो । त्यसमध्ये एउटा जिल्लाका लागि १ अर्ब ४१ करोड देखि १ करोड ९५ लाख रुपैयाँसम्म विनियोजन भएका छन् ।