
काठमाडौं । आन्दोलनरत सरकारी चिकित्सक संघ नेपाल, सघर्ष समितिका उप–संयोजक डा. सुशिलमोहन भट्टराईले स्वास्थ्य मन्त्रालयले आफुहरुमाथि षड्यन्त्र गरेको आरोप लगाउनुभयो । उहाँले मन्त्रालयले आफुहरुको अभिभावकत्व निर्वाह गर्न नसकेको गुनासो पाख्नुभयोे ।

कबाठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सरकारी चिकित्सकहरुलाई सरकारले नै अपहेलित गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘हामी अति भएर छताछुल्ल भएका हौं । बाध्य भएर आन्दोलन गरेका हौं ।’ स्वास्थ्य मन्त्रालयले षड्यन्त्र गरेको र गिरोहको रुपमा काम गरेको पनि उहाँले गम्भीर आरोप लगाउनुभयो ।
भट्टराईले सरकारी चिकित्सक परिवर्तनको संवाहक भएको बताउनुभयो । आफूहरु समायोजनमा जान तयार रहेको भएपनि अहिले प्रदेश र स्थानीय तह अपरिपक्व रहेको उहाँले बताउनुभयो । उहाँले सरकारले सरकारी चिकित्सकहरुलाई धराशयी बनाउने काम गरेको अर्को आरोप लगाउनुभयो ।
संघीयताको मोडल परीक्षणको नाममा आफूहरुलाई बलीको बोको बनाउन खोजिएको उहाँको आशय थियो । उहाँले भन्नुभयो, ‘एक्सपेरिमेन्टको रुपमा हामीलाई मुसा बनाउने काम भएको छ ।’ समायोजनको नतिजा आगामी दश वर्षपछि देखिनेपनि उहाँले सुनाउनुभयो । सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउन नसकेको पनि उहाँले टिप्पणी गर्नुभयो ।
उहाँले आफूहरुलाई समायोजनको नाममा एउटै तहमा थन्काएर जेलमा हाल्न नपाईने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई वैज्ञानिक तवरले समायोजनमा हाल्नुपर्छ । फोकल गरेर पठाउनुपर्छ ।’ आफूहरु संघीयताविरोधी नभएको पनि उनले स्पष्ट पार्नभयो । उहाँले भन्नुभयो, ‘हाम्रो राजनीतिक मुद्दा होईन, र हामी राजनीति पनि बुझ्दैनौं । हामी संघीयताको पक्षपोषण पनि गर्दैनौं र विरोध पनि गर्दैनौं ।’