
इलाम- अर्थोपार्जनको प्रमुख बाली अकबरे खुर्सानीमा रोगकिराको संक्रमण देखिएपछि इलामका कृषक चिन्तित बनेका छन् ।
प्राविधिकका अनुसार अहिले अकबरेमा ब्याक्टेरियल बिल, ड्यापिङ अफ र मोटल भाइरस नामक रोगले सखाप बनाएको छ ।
ब्याक्टेरियन बिल रोग अन्य रोगभन्दा विषालु रोग हो । अकबरे ओइलाउँदै जाने र डाँठ कालो हुने यसको लक्षण हो ।
यसबाट अकबरे बचाउनका लागि माटो परीक्षण गर्नुपर्ने, प्राङ्गरिक तरिकाले खेती गर्नुपर्ने र एउटै ठाउँमा वार्षिकरूपमा फरक–फरक खेती लगाइरहनुपर्ने हुन्छ ।
कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत रोजन खड्काका अनुसार यो रोग बीउ र मोटो दुवैबाट लाग्न सक्छ ।
अकबरे रोप्नुपूर्व कीटाणु नष्ट गर्ने औषधिमा लगाउँदा पनि रोग जान्छ भने रोपेपछि बारीमा उम्रिएको झार फ्याक्दा पनि नियन्त्रण हुन सक्छ ।
‘बिरुवा गोड्दा घाउ बनेको छ भने त्यहाँबाट पनि हावाको माध्यमबाट यो रोग सर्छ’, अधिकृत भट्टराईले भने, ‘यो रोग बढी घाम लाग्ने र बलौटे माटोमा देखिन्छ ।’
यस्तै अर्को अकबरेमै देखिने रोग (ड्यापिङ अप) पनि बिरुवाको डाँठमै पहिले देखिने गर्छ । यो रोगले भने बिरुवाको फेद र डाँठ सुकेर जाने गर्छ । किसान एवं प्राविधिक खेमराज भट्टराईको भनाइ छ । ‘यसका लागि चाहिँ कालो प्लाष्टिकमा ड्याङ बनाएर खेती गर्दा उचित हुन्छ’, उनी भन्छन् ।
यस्तै, पछिल्लो समय अकबरेमा देखिएको रोग मोटल भाइरसले धेरै नोक्सानी गरेको कृषि विशेषज्ञको भनाइ छ ।
अकबरे फल दिने समयमा छिर्के हुने, पहेँलो रङको देखिने लक्षण देखिने कृषि विशेषज्ञ योगेन्द्रमान श्रेष्ठको भनाइ छ ।
यो रोगबाट अकबरे बचाउन गाईको दूधमा(आधा लिटर)मा पानी (चार लिटर) हालेर बिरुवामा हाल्दा नियन्त्रण हुने विशेषज्ञ श्रेष्ठको भनाइ छ ।
इलामका पञ्चकन्या, सोयाङ, नामसालिङ, सुम्बेक, सुलुबुङ, माइमझुवा, गोदक, कन्याम, लक्ष्मीपुरलगायतका गाउँका किसानले अकबरेको व्यावसायिक खेती गर्दै आएका छन् ।
इलामको १५५ हेक्टर क्षेत्रफलमा अकबरे खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारबाट समेत अकबरेको माग आउन थालेपछि किसानले अन्य बाली मासेर पनि अकबरे लगाए पनि रोगकिराको संक्रमणपछि चिन्ता थपिएको कृषक डिल्ली चापागाईँले बताए ।