आज हरितालिका तीज पर्व मनाइँदै, खुलेनन् मठमन्दिर

काठमाडौँ : भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । बुधबार दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।

तृतीयाका दिन हरितालिका व्रत, चौंथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यस वर्ष पनि तीजका अवसरमा मन्दिर खुलेका छैनन् । पशुपतिनाथलगायत मुख्य मन्दिर वैशाखदेखि नै बन्द छन् ।

बिज्ञापन

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मान्यता छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।                                                                          फाइल तस्बिर