
काठमाडौं : रुस र युक्रेनबीचको विवाद असर नेपालसम्म आइपुगेको छ । पूर्वी यूरोपका दुई छिमेकी देश तथा पूर्व सोभियत संघका सदस्य मुलुक आपसमा सैन्य भिडन्तको स्थितिमा पुग्दा त्यसको असर नेपालसम्म आइपुगेको हो ।

रुस संसारकै ठूला तेल उत्पादकमध्ये एक राष्ट्र हो भएकोले लामो समयसम्म छिमेकी मुलुकसँगको सैन्य विवादमा फसिरहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालसम्म आइपुगेको हो ।



दुई देशबीच विवाद चर्किँदै जाँदा विश्वका विभिन्न मुलुक दुई भागमा बाँडिने क्रम जारी छ । रुसले युक्रेनमाथि आक्रमण गरेमा आर्थिक नाकाबन्दी लगाउने अमेरिकाको चेतावनीलाई विश्वभरका देशहरूले समर्थन तथा विरोध गरिरहेका छन् ।

तर यता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको आरोप लगाएका छन् ।युक्रेनको विषयलाई लिएर अमेरिकाले युद्धमा तान्न खोजेको उनको आरोप छ ।
यही विवादबीच यतिखेर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लाग्न थालेको छ । यही वर्ष अर्थात् सन् २०२२ जनवरीको पहिलो साता प्रतिब्यारेल तेल ७९ अमेरिकी डलरमा कारोबार भएको थियो, जुन फेब्रुअरीको पहिलो सातासम्म आइपुग्दा प्रतिब्यारेल १२ डलरले वृद्धि भएर ९१ अमेरिकी डलर पुगेको तेलसम्बन्धी मूल्यको जानकारी दिने क्रुडओयल डटकमले जनाएको छ ।
यसअघि, सन् २०१९ मा कोरोना महामारी फैलिएपछि विश्वभर तेलको मूल्यमा निकै गिरावट आएको थियो । सन् २०२० मध्यतिर कच्चा तेलको मूल्य प्रतिब्यारेल २० अमेरिकी डलरसम्म झरेको थियो ।
यस्तै, विश्वमा कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन फैलनुअघि प्रतिब्यारेल ८६ डलरसम्म पुगेको कच्चा तेलको मूल्य ओमिक्रोन फैलिएसँगै घटेर ७० डलरभन्दा तल आइपुगेको थियो ।
यस्तै युक्रेनबाट नेपालमा मूख्यगरी कच्चा खानेतेलको आयात हुने गर्छ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमै ७९ करोडभन्दा बढीको कच्चा सोयाबिन तेल, तीन अर्ब ५४ करोडको तोरीका दाना, ८ अर्ब २२ करोडको कच्चा सूर्यमुखी र एक करोड ५१ लाख रुपैयाँको सूर्यमुखी दाना आयात भएको छ ।
यद्यपि, नेपालबाट युक्रेनतर्फको निर्यात भने एक करोड रुपैयाँको पनि नरहेको विभागले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
यदी, रुसले युक्रेनमा सैन्य हमला गरिहाले त्यहाँबाट आउने कच्चा तेलको आपूर्ति ठप्पै हुनसक्छ वा मूल्य बढ्न सक्छ । जसकारण, नेपालमा खानेतेलको मूल्य झन उकालो लाग्ने बताइएको छ ।