
कास्की। नेपाली कांग्रेसका नेता द्वय रामचन्द्र पौडेल र शंकर भण्डारीले तनहुँ १ बाट आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार हुन पार्टीमा आवेदन दिएका छन्। पौडेल गत प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ मै उठेर पराजित भएका थिए भने भण्डारी तनहुँ २ बाट पराजित भएका थिए।

तनहुँ २ बाट दाबी नगरेर भण्डारीले यसपालि तनहुँ १ मा उठ्ने तयारी गरिरहेका छन्। यसअघि सोमबार तनहुँ १ बाटै पार्टीका नेताहरू गोविन्द भट्टराई र रामचन्द्र पोखरेलले पनि उम्मेदवारका लागि आवेदन दिएका थिए।



तनहुँ कांग्रेसले आज पनि इच्छुकको आवेदन लिने बताएको छ। आवेदन आएका नाम संकलन गरी तनहुँ कांग्रेसले प्रदेश कार्यसमितिलाई उम्मेदवार सिफारिस गर्नेछ।

कांग्रेसले हिजो र आज प्रदेशसभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रको बैठक राखेर आगामी चुनावका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ उम्मेदवार सिफारिस गर्न आवेदन लिइरहेको छ।
भदौ १८ गतेसम्म जिल्लाले उम्मेदवार सिफारिस गरी प्रदेशमा पठाइसक्नु पर्नेछ। प्रदेशले भदौ २० सम्म ती नाम अध्ययन गरेर रायसहित केन्द्रीय कार्यसमितिमा पठाउनेछ।
कांग्रेसमा चुनावमा टिकट दिन केन्द्रीय संसदीय बोर्ड छ। उक्त बोर्डमा पदाधिकारीबाहेक नेता पौडेल मात्रै सदस्य छन्। संसदीय बोर्डलाई सभापति देउवाले पूर्णता दिइसकेका छैनन्।
रामचन्द्र पौडेलले आफू पहिले जहाँबाट पराजित भएको हो त्यहीबाट यसपालि पनि उठ्ने र जितेर आउने दाबी गरिरहेका छन्। पौडेल कांग्रेसको गत मंसिरमा भएको १४ औं महाधिवेशनमा मौन बसेका थिए। त्यसपछि उनलाई देउवाले साथ दिँदै आएका छन् ।