
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र पहिलो पटक ठूलो दल बन्ने भएको छ। हाल प्रदेश सभामा ठूलो दल रहेको एकीकृत समाजवादीका २ प्रदेशसभा सदस्य (तारा लामा तामाङ र कुलवीर चौधरी) एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्ने छन्। १४ प्रदेशसभा सदस्यसहित ठूलो पार्टी बनेको नेकपा एसका २ सदस्य निलम्बनमा परेमा अब उसँग १२ प्रदेश सभा सदस्य मात्रै हुने छन्।
नेकपा एसका प्रदेशसभा सदस्यको संख्या १२ मात्रै रहेपछि १३ प्रदेशसभा सदस्य रहेको माओवादी प्रदेशको ठूलो दल बन्ने भएको छ। २०७४ मा सम्पन्न प्रदेश निर्वाचनमा १४ सांसद जितेको माओवादीबाट एकजना (झपट बोहरा) एमालेमा गएसँगै उसँग १३ जना मात्रै थिए ।
२०७४ को निर्वाचनपछि २४ प्रदेशसभा सदस्यसहित ठूलो दल बनेको एमाले विभाजित भएपछि १४ प्रदेशसभा सदस्यसहित नेकपा एस प्रदेशसभाको ठूलो दल बनेको थियो। तर प्रदेशसभाको कार्यकाल सकिनै लाग्दा नेकपा एसका २ प्रदेशसभा सदस्य तारालामा तामाङ र कुलवीर चौधरी एमालैमै फर्केका छन्। नेकपा एस दोस्रो ठूलो दल बन्ने छ। ११ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस तेस्रो र १० प्रदेशसभा सदस्य रहेको एमाले चौथो दल बनेका छन्। एक–एकजना प्रदेशसभा सदस्यको जसपा र लोसपा चौथो दल बन्ने छन्।
५३ प्रदेश सदस्य रहेको प्रदेशसभामा थप २ जना निलम्बन हुँदा ४७ सदस्य रहने छन्। ५३ मध्ये एकजना सभामुख र एकजना उपसभामुख रहेका छन्।
हाल नेपाली कांग्रेसबाट डडेल्धुराका कर्ण मल्ल, माओवादीबाट अछामका झपट बोहरा निलम्बनमा परेका छन्। नेकपा एसबाट एमालेमा गएका प्रदेशसभा सदस्य तारा लामा तामाङ र कुलवीर चौधरीलाई नेकपा एसको संसदीय दलले कारवाहीका लागि संसद सचिवालयमा पत्र पठाउनुपर्ने छ।
संसदीय दलले कारबाहीका लागि पठाएको पत्रका आधारमा सभामुखले सूचना टाँसेर वा प्रदेशसभामा जानकारी गराएर संसद् नरहेको जानकारी गराउनुपर्ने व्यवस्था छ।