
विराटनगर । विराटनगरका व्यवसायी जितेन्द्र रायलाई ५ लाख भारतीय रुपैयाँको सुपाडी लिएर हत्याको योजना बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
लेनदेनको विषयमा विवाद भएपछि रायलाई भारतीय सुटर प्रयोग गरी हत्या गराउन विराटनगरका मन्नुकुमार गुप्ताले योजना बनाएका थिए। सुपाडी लिने र योजना बनाउनेसहित घटनामा संलग्नलाई मोरङ प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएका अभियुक्तहरूमा भारत सितामढीका कुनालकुमार सिंह, विराटनगरका गुप्ता र सर्लाहीका हरि नारायण झा रहेका छन्। अभियुक्त मन्नु गुप्ताले रायको हत्या गराउन भन्दै सर्लाहीका हरिनारायण झालाई सो रकम दिएका थिए।
झाले भारत सितामढी घर भएका राकेश झासँग साँठगाँठ गरेर भारत सितामढीकै सुटर कुनाल कुमार गुप्ता र सोही ठाउँका राजुकुमार रौनियारलाई रायको हत्या गर्न पेस्तोलसहित विराटनगर पठाएको प्रहरीको दाबी छ।
रौतहतको गौर हुँदै विराटनगर आएका सुटरहरूमध्ये कुनालकुमार सिंहलाई गएको जेठ २७ गते प्रहरीले विराटनगर बसपार्क छेउमा रहेको होटल मेट्रो सिटिबाट पक्राउ गरेको थियो।
सो होटलमा बियर खाएर नाच्ने क्रममा सिंहले कम्मरमा भिरेको पेस्तोल होटलका अन्य ग्राहक र होटल संचालकले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी आइपुग्नु अघि नै सिंहसँगै रहेका राजुकुमार रौनियार फरार भएको प्रहरीले जनाएको छ।
पेस्तोलसहित पक्राउ गरिएका सिंहको बयानपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा सुपाडी दिएर हत्या प्रयास घटनाको रहस्योद्घाटन भएको हो। सो घटनामा संलग्न भनिएका राकेशकुमार झा र राजुकुमार रौनियार फरार रहेका छन।
अभियुक्त सिंह र रौनियार जेठ २७ गते नै रायको हत्या गर्ने उद्देश्यसहित उनको विराटनगर हाटखोलास्थित घरसमेत पुगेका थिए। तर राय घरमा नभेटिएपछि उनीहरू सोधीखोजी गरी फर्किएर होटल तर्फ गएको बेला सोही राति साढे ८ बजेपछि पेस्तोल सहित कुनाल पक्राउ परेका थिए।
कुनाल पक्राउ परेपछि सर्लाहीबाट हरिनारायण र विराटनगरबाट मन्नुकुमार गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मन्नु बलात्कार अभियोगमा र सर्लाहीका झा हत्या अभियोगमा झुम्का कारागार बस्दा एकआपसबीच भेट भएको र सोही समयमा हत्याको योजना बनेको प्रहरीले जनाएको छ।