श्रम कार्यालयमा ठगी गर्ने कर्मचारीसहित ३ जना विचौलिया प्रहरी फन्दामा

 


जनकपुर । श्रम तथा रोजगार कार्यालय जनकपुरमा विचौलियामार्फत एक कर्मचारीले १३ हजार रुपैयाँ लिनेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

श्रम स्वीकृत लिनका लागि लाईनमा बस्नु नपर्ने भन्दै एक जना सेवाग्राहीलाई रकम दिएमा काम सहज तरिकाले हुने भन्दै दुर्व्यवहार तथा ठगी गर्ने एक कर्मचारीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

प्रहरीले धनुषाको कमला नगरपालिका–३ बस्ने  कार्यालयमा करारमा कार्यरत ३६ वर्षीय रामभगत यादव, लक्ष्मीनिया गाउँपालिका–५ बस्ने सरोजकुमार यादव र जनकपुर उपमहानगरपालिका–१६ का २९ वर्षीय अजय साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

पिडित सेवाग्राहीलाई १३ हजार रुपैयाँ लिर्इ काम गराइदिन्छु भनी लिएको रकम काम नगरेपछि फिर्ता लिन जाँदा नदिएपछि ती पिडितले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए । पिडित सेवाग्राहीको नाम भने गोप्य राखिएको छ ।

 

चैत २० गते नै प्रहरीले सोधपुछको क्रममा कर्मचारी र विचौलिया जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने २७ वर्षीय अजय साह समेतको संलग्न रहेको भन्दै ३ जनालाई नियन्त्रणमा लिएको जिप्रका धनुषाले जनाएको छ ।

 

प्रहरी उपरीक्षक शेखर खनालकाअनुसार पक्राउ परेका ३ जनालाई सार्वजनिक हित विरुद्धको कसुर मुद्दामा दर्ता गरि आवश्यक अनुसन्धान गरि कारवाही हुने जनाए ।