आफ्नो सुरक्षाको प्रत्याभूति भए हिन्दु धर्म पुनस्र्थापना गर्न तयार छु : प्रचण्ड

काठमाडौं। ‘दोस्रो शक्तिशाली नेता’ को राजनीतिक दर्जामा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सुरक्षाको प्रत्याभूति हुने भएमा वैदिक सनातन हिन्दू धर्म पुनस्थापना गर्दा आफूलाई कुनै आपत्ति नहुने बताएको खुलासा भएको छ ।

केही साता अघि नेपाल आएका भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँगको भेटमा अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेको भनी एक पूर्वमन्त्रीले खुलासा गरेका हुन् । नेपाली कांग्रेसका नेता एवं पूर्व कानून मन्त्री दीनवन्धु अर्यालले बिहीबार राति सगरमाथा टेलिभिजनसँगको कुराकानीमा यो कुराको खुलासा गरेका हुन् ।

बिज्ञापन

पछिल्ला दिनमा प्रचण्डले सार्वजनिक सभाहरुमा व्यक्त गरेका अभिव्यक्तिले उनी ठूलै चिन्तामा परेको बुझ्नसकिने नेकपाका एक केन्द्रीय सदस्यले बताए । सपरिवार युएईको अत्याधुनिक सुविधा सम्पन्न होटलमा एकसाता बिताएर फर्केपछि उनमा यस्तो छटपटी देखिन थालेको उनको बुझाई छ ।

भारतीय गुप्तचर प्रमुखसँगको भेटपछि नै प्रचण्ड अलिक तनावमा देखिन थालेको ती केन्द्रीय सदस्य बताउँछन् । त्यो भेटमा रअ प्रमुखले नेपालमा वैदिक सनातन हिन्दू धर्मको पुनस्थापना आवश्यक देखिएको भन्दै यसमा प्रचण्डको धारणा मागेका र प्रचण्डले आफूलाई कुनै आपत्ति नभएको बताएको ती सदस्यले आफूले सुनेको बताएका छन् ।

पूर्व राजामाथि खनिनुको कारण

यतिबेला आफ्ना कमजोरी लुकाउन अरुलाई लाञ्छित गर्ने प्रवृत्ति पनि प्रचण्डमा राम्रैसँग देखिन थालेको छ । मुलुकको प्रधानमन्त्रीका रूपमा दुई÷दुईपटक जिम्मेवारी सम्हालिसकेका प्रचण्डले पछिल्लोपटक विघटित राजसंस्थाका नायक ज्ञानेन्द्र शाहबारे सार्वजनिक रूपमै गरेको टिप्पणी यतिबेला सार्वजनिक खपतको विषय बन्न पुगेको छ ।

आफ्ना कमजोरी र पूर्वकर्म लुकाउन उनले बेला÷बेलामा दिने गरेको विवादास्पद अभिव्यक्तिकै कारण अहिले उनको सर्वत्र आलोचना भैरहेको देखिन्छ । केही दिनअघि उनले आफ्नै नेतृत्वमा सञ्चालित ‘जनयुद्ध’मा संलग्न बाल सैनिक लेनिन विष्टले द्वन्द्वकालका मुद्दा र यसका अभियानकर्ताविरुद्ध हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा उठाएका मुद्दाका विषयमा दिएको विवादास्पद अभिव्यक्ति र गत आइतवार रामेछाप पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई लिएर आएको अभिव्यक्ति यतिबेला व्यापक आलोचनाको विषय बनेको छ । विवादमै रमाउने र विवाद रुचाउने नेताका रूपमा यतिबेला प्रचण्डलाई स्थापित गरेको छ।यो समाचार नेपाल इनसाइडरमा छापिएको छ।