लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि क्यान छलफलको तयारीमा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान तथा लेग स्पिनरसन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि नेपाल क्रिकेट संघ क्यानले उनीमाथी के गर्ने भन्ने विषयमा छलफल गर्ने तयारी गरेको छ ।

बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफलको तयारी गरिरहेको हो । उपत्यका बाहिर रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्द फर्किएपछि उपलब्ध पदाधिकारी तथा बोर्ड सदस्यहरुको बैठक बसेर निर्णय गर्ने क्यानको तयारी छ ।

क्यानका कानुनी सल्लाहकारले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको कानुनी व्यवस्थाबारे अध्ययन गरिरहेका छन् । क्यान अध्यक्ष चन्दका अनुसार आरोप लाग्नासाथ निलम्बन गर्ने वा दोषी प्रमाणित भएपछि मात्रै कारबाही गर्ने दुबै अभ्यास अन्तर्राष्ट्रिय स्तरमा देखिएको छ । अध्यक्ष चन्द भन्छन्, ‘आरोप लागिसकेपछि अनुसन्धानमा त सहयोग गर्नैपर्छ । तर जानीजानी उसलाई मर्का पर्ने गरी निर्णय पनि गर्नु हुँदैन ।’