
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालका सम्पदाहरूको संरक्षणबाट नै पर्यटन क्षेत्रको विकास गर्नसकिने बताएका छन् । उनले नेपालमा भएका सम्पदाहरू संरक्षण गर्नसके मात्रै पर्यटन विकासमा ठूलो योगदान पुग्ने बताए ।
इन्द्रजात्राको बारेमा जानकारी दिन काठमाडौं महानगरपालिकाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर साहले देशको सौन्दर्य भनेको नै मुलुकका मूर्त र अमूर्त सम्पदाहरूको पहिचान गरी विश्वमा चिनाउनु रहेको बताएका हुन् ।
उनले इन्द्रजात्रालाई विश्वव्यापीरुपमा फैलाउने उद्देश्य महानगरपालिकाले राखेको पनि बताए । साहले नेपालको मूर्त र अमूर्त सम्पदाको राम्रो पक्ष जात्रा, परम्परा, पर्वहरू पूजा गर्नमा मात्र सीमित नभइ मनोरञ्जन, उत्साह र उमङ्ग, खुशीसँग जोडिएको बताए ।
मेयर साहले काठमाडौं उपत्यकाका ३ जिल्लाका पर्वहरूको छुट्टाछुट्टै महत्व रहेको भन्दै सबै पर्वहरूलाई छुट्टा छुट्टै तरिकाले जोगाउँदै जानुपर्ने बताएका छन् ।