चितवनबाट दायाँबायाँ गर्दिन, चुनाव जित्नेमा झण्डै–झण्डै कन्फिडेन्ट छु: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा आफू चितवन–३ बाट दायाँबायाँ नगर्ने प्रष्ट पारेका छन् । चुनाव जित्नेमा पूरा कन्फिडेन्स रहेको उनले बताए ।

पोखरामा आज सञ्चारकमीसँगको अन्तरक्रियामा बोल्दै प्रचण्ड चितवन–३ बाट आफ्नो उम्मेदवारी तय भएको उल्लेख गरेका हुन् । सञ्चारकर्मीले उनलाई चुनाव क्षेत्र परिवर्तनको सम्भावनाबारे सोधेका थिए ।

प्रचण्डले भने, ‘अहिले विभिन्न जिल्लाबाट मलाई हाम्रो पार्टी र अन्य पार्टीका साथीहरुले हाम्रोमा आइदिनुपर्यो भनिराख्नुभएको छ । सबैलाई धन्यवाद नै भन्न चाहन्छु । तर म अहिले चितवनबाटै लड्छु । मेरो दिमागमा दायाँबायाँ अर्को छैन ।’

उनले चितवनका जनताको चेतना र भावनामा आफूलाई विश्वास रहेको उल्लेख गरे । प्रचण्डले थपे, ‘गठवन्धन पनि छँदै छ । गठवन्धनमा कुनै विमति छैन । त्यसैले मैले चितवन छोड्दा राम्रो सन्देश दिँदैन । म यहाँ जित्छु भन्नेमा झण्डै झण्डै पूर्ण कन्फिडेन्स र विश्वासमा छु ।’

उनले विगतमा आफूले विभिन्न जिल्लामा चुनाव लडेर प्रचण्ड देशभरीका जनताको हो भन्ने सिद्द गर्न खोजेको बताए । अहिेल चितवन छाड्दा डराएर हिँडेको जस्तो हुने उनको भनाइ छ ।

‘म त्यसो गर्न चाहन्न, किनकी मैले जित्छु,’ उनले भने ।