
भद्रपुर । झापाको बिर्तामोडस्थित विएण्डसी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ। सर्व सुलभ नेपाली जनताको स्वास्थ्य उपचारमा सहज पुर्याउने उद्देश्यले अस्पतालले आगामी भदौ १ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको हो।
स्वास्थ्य बीमा बोर्ड र बिएण्डसी अस्पताल बिच गत साउन १२ गते भएको सम्झौता अनुसार अस्पतालले स्वास्थ्य बीमाबाट यहाँका सर्व सुलभ जनतालाई उपचार गराउने सहमति गरेको छ। सम्झौता पत्रमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेल र विएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईले हस्ताक्षर गरेका छन्।
स्वास्थ्य बोर्डले अस्पताललाई निर्देशन गरे बमोजिम निःशुल्क उपचार सेवा दिनुपर्ने उल्लेख गरिएको छ।
तोकिएको औषधि र उपचार सेवा उपलब्ध गराउन अस्पताल बाध्यकारी हुने बताइएको छ। आइतबार अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रसाईले नेपाल भरिका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमले तोके अनुसारका सेवा निःशुल्क उपलब्ध गराउने बताए।
उनका अनुसार स्वास्थ्य बीमा गरेका बिरामीले सहजै उपचार नपाएको गुनासो गर्दै आइरहेको अवस्थामा बिएण्डसीमा यो सेवा सुचारु भएपछि यहाँका गरिबी तथा असहाय बिरामीलाई बढी फाइदा पुग्ने छन्।
उनले आगामी १० वर्षभित्र दुई लाखलाई रोजगारी दिने लक्ष्य रहेको बताए। निर्देशक प्रसाईले भने, ‘यसै वर्षदेखि ३ हजारलाई रोजगारी दिने काम गरिरहेको छु।’ तीन महिनाअघि अर्डर गरेको क्यान्सर परीक्षण उपकरण हाल काँकडभिट्टामा आइसकेको छ। सबैभन्दा राम्रो क्यान्सर रोग परीक्षण गर्ने उपकरण आइतबार बेलुकासम्ममा अस्पतालमा भित्रने उनले थपे।
अस्पतालका प्रिन्सिपल प्राध्यापक डा. रामप्रसाद उप्रेतीले अस्पतालका निर्देशक प्रसाईको पैसा कमाउने भन्दा पनि नागरिकको सेवा गर्ने भावना रहेको बताए।
विएण्डसीले गरेका राम्रा कामको चर्चा नभएको गुनासो समेत गरे। उनले भने, ‘महँगो हस्पिटल भनेर बाहिर भ्रम फैलिए पनि सरकारी अस्पताल सरह उपचार सेवा दिँदै आएको छ।’