
काठमाडौं / राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको संरक्षकको भूमिका निभाएको बताएका छन्। उनले बुधवार सामाजिक सञ्जालमार्फत राष्ट्रपतिको कदम राष्ट्रहित अनुकुल रहेको जनाएका हुन् ।
‘प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ। राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ। संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ,’ थापाले ट्विट्मा भनेका छन्।
मंगलवार साँझसम्म राष्ट्रपति भण्डारीलाई दुबै सदनबाट पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय तोकिएको थियो। तर भण्डारीले दोस्रो पटक पनि विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरिन्। संविधानत: दोस्रोपटक सदनबाट पारित गरेर राष्ट्रपतिकहाँ पुगेको विधेयक फिर्ता गर्न मिल्दैन।