
काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरूले आजदेखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्दैछन्। सिट बाँडफाँटको विषयमा छलफल गर्न आज पनि सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै आजदेखि प्रदेशसभाबारे छलफल गर्ने नेताहरूले बताएका छन्।
गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलको पहिलो बैठक साउन २३ गते बसेको थियो। त्यसयता लगातार कार्यदलस्तरमा र शीर्ष नेतृत्व तहमा सिट बाँडफाँटबारे छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन।