
विराटनगर। सत्तारुढ दल नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर गठबन्धन सरकारले गलत गरेको बताउनु भएको छ । गृहजिल्ला मोरङ आउनु भएका कोइरालाले आइतवार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीहरुसँगको छलफलका क्रममा यस्तो बताउनु भएको हो।
निलम्वित प्रधानन्यायाधिस जबराबारेको प्रसंगमा उहाँले सरकारले नजरबन्दमा राखेर जबराको मानवअधिकार पनि उलंघन गरिररहेको बताउनुभयो ।
प्रतिनिधिसभाको पाँच वर्षे आयु सकिएसँगै आफूमाथिको महाअभियोग निष्क्रिय भएको बताएर जबरा सर्वोच्चमा हाजिर हुन तयार थिए।
तर उनी सर्वोच्च आउने थाहा पाएसँगै जबरालाई सरकारले केही दिन बालुवाटारस्थित निवासमै नजरबन्द गरेको थियो। त्यसपछि उनलाई सर्वोच्चबाहेक अन्त मात्रै जाने शर्तमा सुरक्षाकर्मी खटाइएको छ।
डाक्टर कोइरालाले महाअभियोग लगाउने सांसदहरुको अवधि पनि सकिएकाले अब जबराविरुद्धको उक्त आरोप पनि स्वतः निष्क्रिय भएको पनि बताउनु भएको छ ।
महाअभियोग लगाउने सांसदहरूको अवधि सकिएको छ। त्यहीकारण महाअभियोग पनि स्वतः निष्क्रिय भइसकेको छ, भन्दै उहाँले संसदको आयु सकिएर निष्क्रिय भए जस्तै महाअभियोग पनि अब औचित्यहीन भइसकेको बताउनुभयो ।