
काठमाडौँ, जेठ १६ – काठमाडौँको ऐतिहासिक नारायणहिटी दरवार संग्रहालय क्षेत्रलाई “संवेदनशील” भन्दै प्रशासनले निषेधाज्ञा घोषणा गरेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार आदेश जारी गर्दै पाँच जनाभन्दा बढीको भेला, अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न प्रतिबन्ध लगाएका हुन्।

शनिबार (जेठ १७) देखि असार २४ गतेसम्म लागू हुने यो आदेशले केशरमहल चोकदेखि नारायणहिटी दरवार दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार दक्षिण गेटसम्मका क्षेत्रमा कुनै पनि प्रकारको विरोधका गतिविधि गर्न पाइने छैन।



प्रशासनको भनाइमा यो निर्णय शान्ति सुव्यवस्था कायम राख्न र सम्भावित अप्रिय घटना हुन नदिनका लागि गरिएको हो। तर, नागरिक समाज र मानव अधिकारकर्मीहरूले भने यसलाई लोकतान्त्रिक मूल्य र नागरिक अधिकारमाथिको प्रहारको रूपमा लिएका छन्।

प्रशासनले भने आफ्नो निर्णयलाई “सार्वजनिक हितमा आवश्यक” बताउँदै आएको छ। तर निषेधाज्ञाको समयसीमा र प्रभावका विषयमा बढ्दो असन्तुष्टि र जनआक्रोशले निस्तेज नबनाउला भन्न सकिन्न ।