जलवायु परिवर्तन: हरित धर्ती हाम्रो जिम्मेवारी

सपना कन्दङ्ग्वा दमक झापा / जलवायु परिवर्तन कुनै भर्खरै उत्पन्न भएको समस्या होइन। न त कुनै छोटो समयमा नै भएको हो। जलवायु परिवर्तन भनेको पृथ्वीको तापक्रम बिस्तारै बढ्दै जाने प्रक्रिया हो। यसको मुख्य कारण हरितगृहको प्रभाव हो (ग्रीन हाउस इफेक्ट)। जुन हावामा कार्बन डाइअक्साइड, सीएफसी र अन्य प्रदूषक ग्याँसहरू बढी मात्रामा हुने कारणले हुन्छ। यसको असरले पृथ्वी तात्दै जान्छ। अनियन्त्रित रूपमा तापक्रम बढाउँदै जान्छ। जसले ग्लोबल वार्मिङ निम्त्याउँछ। मुख्य रूपमा मानवीय गतिविधिका कारण:- केही जीवनशैलीका कारण। केही विकासका कारण। वन विनाश आदि जस्ता वातावरणलाई बेवास्ता गरिएका कारण। यी सबैले निरन्तरता पाएको कारण। हरित गृह प्रभावको समस्या बढ्दै गएको छ। अझ विकराल बन्दै गएको छ।

जलवायु परिवर्तनले मौसम परिवर्तन, समुद्री सतह बढ्ने, र चरम प्राकृतिक प्रकोपहरू निम्त्याउन सक्छ। समग्रमा मानिस, जनावर तथा प्रकृतिलाई नराम्ररी असर गर्छ। अहिलेको समयमा हामीले यसको असर प्रत्यक्ष रुपमा भोगिरहेका छौँ। जाडोयाममा जाडो नहुनु। गर्मीमा अधिक गर्मी हुनु। हिमालमा हिउँ नपर्नु। जमिन खन्दा पानी नपाइनु। आदि इत्यादि समस्या। हामीले लिने हावा शुद्ध छैन। पिउने पानी सफा छैन। समुद्रमा सामुद्रिक जीव छैनन्। जलवायु परिवर्तनका कारण हामीले यस्ता अनेकौं समस्या भोगिरहेका छौं। अब यस्ता समस्यालाई बुझेर समाधान खोज्न आवश्यक छ। ICIMOD को अनुसार नेपालमा मात्रै दैनिक २.७ टन त प्लाष्टिक मात्र निस्कन्छ, जुन सिधै जमिनमा फ्यालिइन्छ। त्यस्तो प्लाष्टिक जुन पूर्ण रूपले नष्ट हुन १००-१००० वर्ष लाग्छ। अब सोचौं विश्वमा कति फोहोर दैनिक रुपमा निस्कन्छन् होला? जबकि हाम्रो जस्तो विकासशील देशमा त यस्तो अवस्था छ। तर यस्ता फोहोरहरुलाई पुन: प्रयोगमा ल्याउन प्रयास भने न्यून छ।

बिज्ञापन

सिकागो विश्वविद्यालयअन्तर्गत इनर्जी पोलिसी इन्स्टिच्युट द्वारा प्रकाशित प्रतिवेदनले नेपाललाई विश्वकै तेस्रो सर्वाधिक प्रदूषित देशको रूपमा सूचीकृत गरेको छ। जलवायु परिवर्तन, ग्लोबल वार्मिङ यसको शाब्दिक अर्थ र यो हुनुको कारण बुझें पनि अब यसको समाधानका लागि के के गर्न सकिन्छ? कसले? र कसरी? भन्ने कुरामा ध्यान दिनु महत्वपूर्ण हुन्छ। विश्वमा भइरहेको विकास, वैज्ञानिक प्रविधि र हरेक किसिमको विकास जुन ठूलो कारण हो। यसलाई हामीले ठप्प रोक्न सक्दैनौँ। अझ भनौँ मिल्दैन पनि। विकास त जरुरी छ र परिवर्तन आवश्यक पनि छ। अब त्यसो भए यसलाई रोक्न चाहिँ के के गर्न सकिन्छ होला त? के चाहिँ गर्नुपर्छ होला त??? यसको बारेमा सबैभन्दा बढी अहिलेको युवा र बालबालिकाहरुले यो विषयमा जानकार हुनुपर्छ। यसको लागि आवाज मात्र उठाउने नभएर यसको लागि काम पनि गर्नुपर्छ। विकासका नाममा हुने प्रदुषण र फोहोरहरुको अल्टरनेटिभ उपाय सोच्नुपर्छ। किनकि यसको सबैभन्दा बढी प्रभाव अबका युवा र बालबालिकाहरूमा पर्नेछ। भोलिका युवा र बालबालिकाहरूमा पर्नेछ। अहिलेको वर्तमान परिस्थितिमा पृथ्वीले निकै गम्भीर वातावरणीय समस्याहरु भोगिरहनु परेको छ।

पृथ्वी समस्यामा हुनु भनेको यसमा रहने हामी सबै प्राणीहरू खतरामा हुनु हो। यसका लागि के के गर्न सकिन्छ होला? – हामीले प्रयोग गर्ने हरेक वस्तु तथा उत्पादनहरू सकेसम्म पर्यावरण अनुकूल उत्पादनहरू मात्र प्रयोग गर्ने। – हाम्रा कारणले निस्कने हरेक फोहोर सही स्थान (डस्टबिन)मा छुट्याएर राख्ने। यदि हाम्रो फोहोर कमसेकम डस्टबिनसम्म पुग्यो भने मात्र पनि एक हदसम्म फोहोर व्यवस्थित हुनेछ। कमसेकम जथाभावी फोहोर छरिँदैन। -यात्रामा हिँड्दा कहिल्यै पनि फोहोरहरु गाडीको झ्यालबाट हावामा फ्याँक्ने नगरौँ। किनभने नेपालका अधिकांश सडकहरू जंगलको बीचमा बनेको छ। त्यस्तो स्थानमा कुनै संस्था तथा पालिकाले गएर त्यस्ता फोहोर सङ्कलन नै गर्दैनन्। त्यहाँ फोहोर फ्याक्नु भनेको त्यो प्लाष्टिकजन्य फोहोर अबका सयौं वर्षसम्म त्यही रहनु हो। -हामीले प्रयोग गर्ने वस्तु तथा उत्पादनहरूलाई यदि सकिन्छ भने हामीले घरमै पनि त्यसलाई पुनः प्रयोग गरौं। अन्य कुनै काममा लगाऔँ। जस्तै: प्लास्टिक बोतल, झोला, कपडाहरू, भान्साबाट आउने फोहोर। कतिपय फोहोर त हामी कुनै सामानसँग साट्न पनि सक्छौं। बेच्न पनि सकिन्छ। जस्तै: कागज, सिसा, फलाम आदि। समस्या यो हो कि, हामी त्यसो गर्दैनौं। अथवा भनौँ त्यसो गर्ने एकदमै कम हुनुहुन्छ। हामीले प्रदूषणका ठूलाठूला कारणहरू रोक्न नसकेपनि। सफा गर्न नसके पनि। आफ्नो फोहोर कम भने पक्कै गर्न सक्छौँ। हामीले अरुले आएर गर्देला भनेर बस्ने। यतिले केही हुँदैन। यस्तो सोच्ने भन्दा पनि, मैले जति सक्छु त्यो गर्छु भनौं। अब गुनासो मात्र गर्ने हैन। काम गर्न आवश्यक छ। यस्तो समस्याको समाधान खोजी गर्न आवश्यक छ। हामीले गर्ने क्रियाप्रति चिन्तनशील हौँ। प्रतिक्रियाप्रति चिन्तनशील हौं।“म एक्लैले गरेर के नै हुन्छ र!” भन्ने गलत सोच नराखौं। हामीले बिर्सन हुँदैन सुरुवात एक बाट नै हुने हो।

नेपालमा २०७८ को गणना अनुसार ७६.२% हामी शिक्षित नागरिकहरू छौँ। मतलब, यदि हामीले चाह्यौ भने परिवर्तन सम्भव छ। हामीले हाम्रो फोहोर व्यवस्थापन गरौँ। पुनः प्रयोग गरौं। नसके पालिकालाई संकलनमा सहयोग गरौं। अन्य ठुलाठुला देश, सामाजिक संस्थाहरूले पनि यसका लागि निरन्तर साना, ठुला अभियान गरिरहेका छन्। निरन्तर कार्यक्रमहरू गरिरहेका छन् । जस्तै जलवायु परिवर्तन बारे काम गरिरहेको -स्विडेन। यस्ले वातावरण, जलवायु संरक्षणका लागि राष्ट्रिय निति निर्माण गरेको छ ।

-यु.एन- जसले निरन्तर यसका लागि कार्यक्रम, रणनिति र अभियान्ताहरु उत्पादन गरिरहेको छ। तर अझैपनि यो पर्याप्त छैन। यो समस्या केवल एक देशको होइन। पुरा विश्वको हो। निकै जटिल समस्या हो। जसबारे पूरा विश्वले सोच्न जरुरी छ। काम गर्न जरुरी छ। हरेक ठाउँ बाट। साधारण जनता देखि लिएर नीति निर्माण गर्ने व्यक्तिहरू सम्मले। हामी सबैसँग हातमा फोन छ। इन्टरनेट छ। त्यसको सहयोग लिएर भएपनि यस्ता प्रदूषणका लागि उपाय खोजौँ, सिकौँ। दैनिक जीवनमा लागू गर्ने प्रयास ‌गरौं। यसरी हामीले नेपाललाई पनि एकदिन ‘मोस्ट पल्युटेड कन्ट्री’ लिस्टमा केही तल झार्नेछौँ। अब पनि हामी ब्युझिएनौँ भने, के यो पृथ्वीमा कुनै प्राणी बाँच्न सक्ने अवस्था रहला?

जीवनमा लागू गर्ने प्रयास ‌गरौं। यसरी हामीले नेपाललाई पनि एकदिन ‘मोस्ट पल्युटेड कन्ट्री’ लिस्टमा केही तल झार्नेछौँ। अब पनि हामी ब्युझिएनौँ भने, के यो पृथ्वीमा कुनै प्राणी बाँच्न सक्ने अवस्था रहला?