
झापा । जिल्लामा पछिल्लो समयमा गाई गोरु तस्करीको बाटो फेरिएको छ । कतै प्रहरीको सेटिङ तस्करी भइरहेको छ, भने कतै प्रहरीको आँखा छलेर तस्कर समूहले गाई गोरु भारत निकासी हुँदै आइरहेको थियो ।




नेपाल भारतको खुला सीमा क्षेत्रमा अवैध रूपमा गाई गोरु भारत निकासी हुन थालेपछि यसको नियन्त्रण तथा रोकथाममा नेपाल प्रहरीले पछिल्लो समयमा सक्रियता बढाएको थियो । प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशकुमार मैनाली आएसँगै गाई गोरु तस्करी नियन्त्रणमा प्रहरीले चासो देखाएको थिए । विशेष गरी झापाको भद्रपुर, केचना, घेरावारि, कुमरखोद, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाकाबाट दैनिक गाई गोरु भारततर्फ तस्करी भइरहेको थियो । भने अहिले झापाको बाहुणडाँगी, नकलबन्दा, ज्यामिरगढी लगायत नाका तस्करीले मुख्य बाटो बनाउन थालेका छन् ।

पूर्वी नाकाको मेचीनगर वडा न ५ स्थित दश गजा क्षेत्रबाट २५ ओटा गोरु प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले सोमबार राति ८ बजे सो क्षेत्रबाट यी गोरु भारत तर्फ लादै गरेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी गोविन्द कुमार कार्कीले जानकारी दिए । बरामद गोरु पक्राउ गरी आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको छ ।
बाहुण्डाँगी प्रहरी चौकी, नकलबन्दा प्रहरी चौकी, ज्यामिरगढी प्रहरी चौकी, घेरावारि प्रहरी चौकी, इलाका प्रहरी कार्यालय कुमरखोद, इलाका प्रहरी कार्यालय गौरीगञ्जका इन्चार्जहरूले गाई गोरु बरामद गरी भन्सार बुझाएको खासै देखिँदैन। झापाका ती नाकाहरूमा भ्यान, जिप, ट्रकमा दिनहुँ गाई गोरु ल्याउने र बिहान, बेलुका र रातको समयमा तस्कर समूहले सोजै भारत लैजाने गरेको छ। भारतबाट ती गाई गोरुलाई बङ्गलादेश, आसाम लगायतका ठाउँमा पुर्याउने गरेको छ। यता गाई गोरु लगायतका तस्करी गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा इन्चार्जहरूलाई कडा निर्देशन दिइसकेको प्रहरी कार्यालय झापाका एसपी दिनेशकुमार मैनालीले बताए।