
नेपाली बजारमा हिँड्दा यस्तो लाग्छ कि नेपालमा मान्छे भन्दा मोटरसाइकल नै बढि छ। कुनै कस्ता, कुनै कस्ता, थरी थरी ब्राण्डका थरी थरी रङ्गका- कुनै पल्सर त कुनै ड्यूक, कुनै १५० सीसी त कुनै २२० सीसी! तर सायद अधिकांशलाई यो थाहा छैन कि ‘बाइकको “cc” ले के जनाउँछ?”
इञ्जिनको दुनियाँमा ‘सीसी’ (cc) ले ‘क्यूबीक सेन्टिमिटर’ (Cubic Centimeter) भन्ने जनाउँदछ। यसले मोटरसाइकल तथा अन्य सवारी साधनहरूको इञ्जिनको आकार अथवा आयतन (Volume) लाई बुझाउँदछ।
मोटरसाइकल राइडरहरूका लागि यो ‘सीसी’ भन्ने कुरा एकदमै महत्वपूर्णको कुरा हुन आउँछ, किनभने यसैले नै बाइक कति छिटो कुद्छ भन्ने कुराको निर्धारण गर्दछ।
‘सीसी’को आकार
दुईपाङ्ग्रे सवारीको कुरा गर्दा, विश्वभरीमा तपाईँले ५० सीसी देखि २००० सीसी सम्मका वर्गमा पर्ने इञ्जिनहरू भेट्न सक्नुहुन्छ।
५० सीसी देखि १२५ सीसी सम्मका इञ्जिनहरू विशेष गरी स्कूटर तथा मोपेडका लागि प्रयोग गरिन्छ। १४०० सीसीभन्दा बढिका वर्गमा पर्ने इञ्जिन, रेसिङ्ग बाइक तथा उच्च क्षमताका बाइकहरूमा प्रयोग गरिन्छ।
साधारण सडकमा कुदाउनका लागि निर्माण गरिएका अधिकांश मोटरसाइकलहरूमा १२५ देखि १४०० सीसीसम्मका इञ्जिनहरू प्रयोग गरिन्छ।
बाइकमा ‘सीसी’को महत्व माथि नै उल्लेख गरिसकिएको छ कि, “cc” ले क्यूबीक सेन्टिमिटरलाई बुझाउँदछ र यसले इञ्जिनको आकार र क्षमताको जानकारी दिन्छ।
मोटरसाइकलको इञ्जिनले दुवैप्रकारका इन्धन (ग्याँस/पेट्रोल) र हावालाई मिसाउँदछ। त्यसपछि त्यस मिश्रणलाई जलाएर त्यसबाट पैदा हुने बिस्फोटलाई ऊर्जाको रूपमा प्रयोग गरी बाइकको चेनलाई घुमाइन्छ, जसले पछाडिको चक्कालाई घुमाउँदछ र जसको कारण बाइक अगाडि गुड्दछ।
साधारण रूपमा भन्नुपर्दा, मोटरसाइकलमा जति ठूलो इञ्जिनको डिब्बा भयो त्यसले त्यति नै धेरै ऊर्जा पैदा गराउन सक्दछ र बाइकलाई छिटो कुदाउँदछ।
तर, यो त पूरै कथाको सारांश मात्रै हो। प्रविधिको विकाससँगै अहिले थरी-थरी प्रकारका इञ्जिनहरूको आविष्कार भैसकेका छन्, जसले भिन्नाभिन्नै तरिकाबाट ऊर्जाको उत्पादन गर्दछ।
ध्यान दिनुपर्ने अन्य कुराहरू” बाइकमा ‘सीसी’ले के जनाउँछ भन्ने कुरा जान्नको लागि निम्न दुई कुराहरू पनि जान्नु आवश्यक पर्दछ–
१. इञ्जिनमा हुने सिलिण्डरको सङ्ख्या: इञ्जिन विशेष गरी तीन प्रकारका हुन्छन्- सिङ्गल सिलिण्डर (एउटा सिलिण्डर) , ट्वीन सिलिण्डर (दुईवटा सिलिण्डर) र क्वाड सिलिण्डर (चार वटा सिलिण्डर)।
यी तीन प्रकारका इञ्जिनहरूले भिन्नाभिन्नै किसिमले र भिन्नाभिन्नै स्तरको ऊर्जा उत्पादन गर्दछन्। सामान्यतयाः इञ्जिनमा जति धेरै सिलिण्डर भयो उति धेरै ऊर्जा उत्पन्न हुन्छ। उदाहरणको लागि, ४०० सीसीको सिङ्गल सिलिण्डर मोटरसाइकलले ४०० सीसीकै क्वाड सिलिण्डर मोटरसाइकलको तुलना गर्न सक्दैन।
२. २ स्ट्रोक र ४ स्ट्रोक इञ्जिन: बाइकको पेट्रोल राख्ने ट्याङ्कीनेर लेखेको देख्नुभएकै छ होला- “4-stroke Engine” । इन्धनलाई ऊर्जामा परिणत गर्नको लागि सुरुमा त्यसलाई बेस्सरी खाँद्नुपर्ने हुन्छ, मतलब त्यसमा सकेसम्म दवाव दिनुपर्ने हुन्छ, त्यसपछि त्यसलाई जलाउनुपर्ने हुन्छ, अनि बल्ल त्यसको बिस्फोटबाट ऊर्जा उत्पन्न हुन्छ।
२-स्ट्रोक इञ्जिन र ४-स्ट्रोक इञ्जिनले यो प्रक्रियालाई भिन्नाभिन्नै तरिकाले सम्पन्न गर्दछ। ४-स्ट्रोक इञ्जिनले यो सबै प्रक्रिया ४-वटा चरण पार गरेर सम्पन्न गर्दछ भने २-स्ट्रोक इञ्जिनले यो सबै प्रक्रिया केवल २ चरणमा नै सम्पन्न गर्दछ। त्यसैले २-स्ट्रोकवाला २५० सीसीको मोटरसाइकलले ४-स्ट्रोकवाला २५० सीसीकै मोटरसाइकलले भन्दा कैयौँगुणा बढि ऊर्जा पैदा गर्दछ।




