भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा पूर्वमन्त्री बलबहादुर केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । सार्वजनिक पद धारण गरी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सोलुखुम्बुको तत्कालीन सल्लेरी गाविस ७ का नारायण निरौलाले उजुरी दर्ता गरेका हुन् ।

 

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री केसी २०४८ सालदेखि सोलुखुम्बुबाट प्रतिनिधित्व भई सांसद र मन्त्रिसमेत भइसकेका छन् ।

 

उनले अकुत सम्पत्ति आर्जन गरी अवैध किसिमबाट कमाएको सम्पति लुकाउन आफ्ना दाजु, भाइ, दिदी बहिनी, भाञ्जा र अरु नातेदारसमेतको नाममा साविकको गाविस र महानगरपालिकाको विभिन्न वडामा घरजग्गा किनेको उजुरीमा उल्लेख छ ।

 

उनको पहिलाको आर्थिक हैसियत घर खर्च पनि चलाउन नसक्ने अवस्था रहेको र प्रतिनिधि सभा सदस्य र मन्त्री भएपछि एकाएक करोडौंको सम्पत्ति जोडेको भन्दै स्थानीयले उजुरी दर्ता गरेका हुन् । पूर्व मन्त्री केसीको नाममा काठमाडौ महानगरपालिका–४ मा ४५ करोड रुपैयाँ भन्दा बढी पर्ने घर रहेको उजुरीमा उल्लेख छ ।

 

हाल गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पस रहेको घर उनकै नाममा छ । केसीको नाममा काठमाडौंमा तीन वटा घर रहेको उजुरीमा उल्लेख छ ।

 

त्यस्तै सोलुखुम्बुको सल्लेरीमा १० करोड रुपैयाँभन्दा माथिको सम्पति रहेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ । आफन्तहरुको नाममा समेत केसीले करोडौं मूल्य पर्ने घरजग्गा सम्पत्ति लुकाएर राखेको उजुरीमा भनिएको छ ।

 

उनले सार्वजनिक पदमा रहेर दुई अर्ब भन्दा बढी सम्पति आर्जन गरेको भन्दै छानविनको माग गर्दै दूधकुण्ड नगरपालिका ११ सोलुखुम्बुका दिनेश कार्कीले अख्तियारमा उजुरी दिएका छन् ।

 

पूर्व मन्त्री केसीले आफ्ना नातेदारको नाममा राखेको घरजग्गा मात्रै ४५ करोड रुपैयाँभन्दा बढी मूल्यको रहेको अख्तियारमा दायर भएको उजुरीमा उल्लेख छ । अख्तियारले पूर्व मन्त्री केसीको सम्पत्तिको विषयमा छानविन प्रक्रिया अगाडि बढाएको जनाएको छ ।राजधानी दैनिकबाट