काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार पूर्वाञ्चल भ्रमणमा निस्कन लागेको छन् । पश्चिमाञ्चल भ्रमणबाट फर्किएका उनी करिब ३ सातापछि पूर्वाञ्चल भ्रमणमा निस्कन लागेका हुन् । पूर्वराजासँगै पूर्वरानी कोमल र उनका निजी सचिव सागर तिमिल्सिना पनि उनको साथ जाने बुझिएको छ ।
एक महिना लामो बसाइका क्रममा विभिन्न मठ मन्दिरको दर्जन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । बुधबार ११ बजे बुद्ध एयरको जहाजबाट उनी भद्रपुर जाने भ्रमण तालिका बनेको छ ।
उनका सुरक्षाका बन्दोबस्ती मिलाउन उनका अंगरक्षक सशस्त्र प्रहरीका डिएसपी राजन गुरागाईसहितको २५ सदस्यीय टोली आइतबार झापा पुगिसेको बताइएको छ । झापामा रहँदा उनी आफ्नै स्वामित्वमा रहेको हिमालय टि स्टेटमा बस्ने प्रवन्ध गरिएको छ ।
बसाईका क्रममा राप्रपाका उच्च तहका नेता, पूर्वराजावादी, युवा संघ-संगठन, विश्व हिन्दू युवा संघलगायतका नेता तथा कार्यकताहरुलाई समेत भेट्ने कार्यक्रम रहेको बताइएको छ । पूर्वराजाको निजी सचिवालयले भने उनको निजी भ्रमण भएको जनाएको छ ।