कोरोना भाइरस  नेपालमा देखियो  : यी हुन् लक्षण र बच्ने उपाय

काठमाडौं : छिमेकी मुलुक चीनको हुबेई प्रान्तको राजधानी सहर उहानबाट फैलिएको जटिल कोरोना भाइरस नेपाललगायत विश्वभर फैलिन थालेको छ । नेपालमा यो रोगको संक्रमण फैलिने क्रममा एक जना नेपाली प्रभावित भएका छन् भने अन्य व्यक्तिसमेत प्रभावित हुन सक्ने भय बढेको छ । कोरोनाको संक्रमणबाट पीडित भएका ती नेपाली केही दिनअघि मात्रै उहानबाट नेपाल आएका थिए । उनी विद्यार्थी हुन् । ती विद्यार्थीको रगतको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । उनको नमुना परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । चिकित्सकका अनुसार संक्रमण भएको एक सातासम्म थाहा हुँदैन ।

 

बिज्ञापन

चीनको उहान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित निदानका लागि डब्लूएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको हो । यस्तै, चीनबाट भर्खरै फर्किएका अर्का एक जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उच्च निगरानीमा राखिएकाले उनलाई पनि कोरोना भाइरस भएको हुन सक्ने आशंका गरिएको छ । उनको पनि रगत परीक्षणको नमुना आज शनिबार नै हङकङ पठाउने तयारी गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले बताए । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २६ जनाको मृत्यु भएको छ । जसमध्ये चमेरोको मासु खाएर १३ जना, चाइनिज कोब्राको मासु खाएर नौ जना र मानिसबाट मानिसमा सरेर चार जनाको मृत्यु भएको उहान प्रान्तमा रहेका छाङ्सा युनिभर्सिटी मेडिकल कलेजका अन्तर्राष्ट्रिय कोर्डिनेटर तथा सल्लाहकार डा  रमेश आचार्यले जानकारी दिए ।

 

हालसम्म ९ सय १३ जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । जसअन्तर्गत नेपालमा एक जना, थाइल्यान्डमा पाँच जना, दक्षिण कोरियामा दुई जना, जापानमा दुई जना, अस्ट्रेलियामा दुई जना, हङकङमा चार जना नागरिकलाई कोरोना भाइरस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, मकाउका दुई जना, अमेरिकाका एक जना, भियतनाममा दुई जनामा कोरोना भाइरस भएको पाइएको छ ।

 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरसको समूह हो । जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ । यसले सामान्य रुघाखोकीदेखि निमोनिया भई मानिसको मृत्युसम्म हुन्छ । चिकित्सकका अनुसार अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो । जुन पहिले मानिसमा पहिचान भएको थिएन ।

 

डब्लूएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मार्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)को समस्या निम्त्याउँछ । नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्छ । नोबेल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । लक्षणका आधारमा उपचार गरिने चिकित्सक बताउँछन् ।

 

स्वास्थ्य जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद व्यक्तिको विमानस्थलमै स्वास्थ परीक्षण गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हाल आठ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । पाटन अस्पताल, शुक्रराज अस्पतालमा उपचारको व्यवस्था गरिएको छ ।’ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सावधानी अपनाउनुको विकल्प नरहेको भन्दै उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरे ।

 

यसैबीच, चीनमा माहामारीको रूप लिइरहेको कोरोना भाइरसको संक्रमणबारे सावधानी अपनाउन बेइजिङस्थित नेपाली दूतावासले चीनमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ । बिहीबार दूतावासले सूचना जारी गर्दै संक्रमण फैलिरहेको हुबेई प्रान्तको राजधानी सहर उहानमा रहेका नेपालीलाई आग्रह गरेको हो ।

 

के भन्छन् चीनको उहानमा रहेका नेपाली चिकित्सक

हाल यस प्रान्तमा सय बढी नेपाली विद्यार्थी छन् । कुनै पनि नेपालीलाई अनुमतिबिना विश्वविद्यालयले बाहिर जान रोक लगाएको छ । यहाँबाट सबै उडान बन्द छन् । लामो तथा छोटो दूरीका सवारीसाधन अनिश्चितकालीन बन्द गरिएका छन् । आपतकालीन उद्धारका लागि एक किलोमिटरको दूरीमा एम्बुलेन्स र मेडिकल तयारी अवस्थामा राखिएको छ ।

यो भाइरस स्वयानान सी फुड मार्केटमा पहिलोपटक ७१ वर्षका चिनियाँ नागरिकमा देखिएको थियो । अहिलेसम्म ८ हजार नागरिक उच्च निगरानीमा छन् । अहिलेसम्म नेपाली सकुशल अवस्थामा छन् । १ सय ९६ नागरिकको जतिखेर पनि मृत्यु हुन सक्ने भन्दै उपचार प्रक्रिया थालिएको छ । यस्तै, १ हजार ९ सय जना उपचाररत छन् । यस्तै, उहानका ८ हजार बढी स्थानीय नागरिक उच्च निगरानीमा छन् ।

 

लक्षणहरू
० चारदेखि सात दिनसम्म नाकबाट रुघाजस्तो पानी बग्ने
० १०औं दिनदेखि १६औं दिनसम्म १०४ डिग्रीको उच्च
ज्वरो आउने
० एक सातापछि रातिको समयमा सुख्खा खोकी लाग्ने
० श्वासप्रश्वासमा अप्ठ्यारो हुने
० १३औं दिनदेखि टाउको
दुख्न थाल्ने
० एक्सरे गर्दा भाइरल
निमोनिया देखिने
० १३ देखि १५ दिनसम्म लिम्फोसाइट्स र डब्लूबीसीको लेभल घट्ने
० भाइरल निमोनियाका कारण मृत्यु हुन सक्ने

 

बच्ने उपाय
० सजिर्कल मास्क प्रयोग गर्ने
० प्रशस्त मात्रामा झोलिलो
पदार्थ पिउने
० रुघाखोकी लाग्दा टिस्यु पेपर वा सफा कपडाले नाक छोप्ने
० बंगुर, कुकुर, बिरालो, सर्प, घोडा, चमेरोबाट टाढा रहने
० भीडभाडमा नबस्ने
० खाना खानुअघि, खाना खाइसकेपछि वा अन्य समयमा १० देखि १५ पटकसम्म साबुन पानीले
हात धुने
० बिरामी मानिसको सम्पर्कमा नआउने

० पशुजन्य मासुर अण्डा राम्रो पाकेको मात्र खाने

द नेपालटप