चितवन

नारायणगढमा आजदेखि सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ । महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार चितवन आइपुगेका थिए ।

 

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्विकार गरी कार्यक्रमका लागि आए पनि पछि कार्यक्रम विवादित भएकाले सहभागी नहुने निर्णय गरेको जानकारी दिए ।

 

स्थानीय प्रशासनसँगको छलफलपछि विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौँ फर्कन लाग्नुभएको मगरले जानकारी दिए ।

 

कोटिहोमका संयोजक एवम् प्रमुख बाचक बालयोश्वर महाराज बताउने बिजय भण्डारी ठग भएको भन्दै समाचार बाहिरिएको छ । सो पश्चात कार्यक्रमका प्रमुख अतिथिका रुपमा आएका पुन कार्यक्रम विवादित भएको भन्दै सहभागी भएका हुन् ।
आजदेखि एक महिनासम्म नारायणगढको नारायणी नदी किनारमा महायज्ञ सञ्चालन हुन गइरहेको छ ।

 

को हुन् ‘महाराजॅ ?

गुल्मी धुर्कोटबस्तु घर भएका भण्डारी जनयुद्धकालमा तत्कालीन माओवादीको भ्रातृसंगठन अखिल क्रान्तिकारीमा लागेका थिए । स्थानीयका अनुसार उनका बाबु मनिराम पनि त्यतिबेला माओवादीको एरिया कमिटी सचिव बनेका थिए ।

 

माओवादीमा आबद्ध भएको भन्दै प्रहरीले खोजी सूचीमा राखेपछि भण्डारीले स्थानीय हिमालय उच्च माविको आठ कक्षा पास गर्नेबित्तिकै आफन्तको सहयोगमा काठमाडौं आएर थानकोटस्थित अरबिन्दो योगा मन्दिर आश्रममा बसेर आश्रमकै सहयोगमा माउन्ट भ्याली स्कुलबाट एसएलसी पास गरेका थिए । उनीसँगै आश्रममा बसेका विद्यार्थीहरूका अनुसार आश्रममा रहेका बेला गाडीको टायर चोरेको आरोप प्रमाणित भएपछि उनी स्कुलबाट निकालिएका थिए । आश्रमबाट निकालिएकै समयमा उनका बाबु मनिराम पनि आर्थिक अपचलन आरोपमा पार्टीबाट निष्कासनमा परेका थिए ।

 

‘५/७ वर्षअघि संस्थासँग अनुमति नलिई संस्थाका नाममा भिजिटिङ कार्ड छापेर विदेश लैजान्छु भन्दै रकम असुलेको थाहा पाएपछि उनलाई मौखिक खबरदारी गरिएको थियो,’ आश्रमका प्रमुख रामचन्द्र दास भनिने चन्द्रमणि भुसालले भने, ‘ठगी गरेको थाहा पाएपछि उनलाई आश्रममा कहिल्यै छिर्न नपाउने गरी निषेध गर्ने निर्णय गर्‍यौं ।’

 

गेरुवस्त्र धारण गरेलगत्तै विजयले २०६८ वैशाखमा आफैंले पाँच लाख खर्चेर कलंकीमा भागवत पुराण लगाएका थिए । त्यसपछिका वर्षमा उनले विभिन्न स्थानमा प्रतिशत नै तोकर महायज्ञ र धान्यान्चल गर्दै आएका छन् ।