कोरोना भाइरसका कारण आतंकित नेपालीहरुलाई नेपाल ल्याउनको लागि तयारी

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई नेपाल फर्काउनको लागि पहल गरेका छन् । चीनमा रहेका नेपालीहरुको विषयमा राजदुतावाससँग जानकारी लिने काम पनि मन्त्रालयले गरिरहेको छ ।

 

बिज्ञापन

कोरोना भाइरसका कारण आतंकित नेपालीहरुलाई नेपाल ल्याउनको लागि चिनियाँ सरकारसँग आग्रह गरेसँगै चीनमा रहेका नेपालीहरुलाई नेपाल फर्काउनको लागि तयारी थालिएको छ । यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग भेट गरेर नेपाली विद्यार्थीको विषयमा जानकारी लिदै उनीहरुलाई नेपाल फर्काउनको लागि आवश्यक तयारी भएको बताएका थिए ।

 

यस्तै चीनका लागि नेपाली राजदूत लिलामणी पौडेलले पनि चीनमा रहेका विद्यार्थीहरुसँग विभिन्न माध्यमबाट सम्पर्क भईरहेको बताएका छन् । उनले सामाजिक संजाल विच्याट मार्फत नेपालीहरु सम्पर्कमा रहेको बताएका छन् । सम्पर्कमा रहेकाहरु सकुशल रहेको पनि बताईएको छ ।

 

चीनमा देखिएको कोरोना भाइरस अहिले विश्वका धेरैजसो दशमा देखिन थालिसकेको छ । भने यसबाट मृत्यु हुनेको संख्या तीन सय नाघिसकेको छ भने १४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । रोगको प्रकोप विश्वव्यापी हुन थालेपछि विश्व स्वास्थ्य संगठनले संकटकाल घोषणा गरिसकेको छ ।

 

हिजो शनिवार बेइजिङस्थित नेपाली दूतावासले एक सुचना निकाल्दै नेपाल जान इच्छुक नेपालीले अनलाइन फारम भर्न भनिसकेको छ । आज आइतबार स्थानीय समयअनुसार ९ बजे फर्म भर्नका लागि सबै विधार्थीहरुलाई सूचना दिएको दुतावासले जनाएको छ । फर्म भरेका नेपालीहरुलाई मंगलबार वा बढीमा यो हप्ताभित्र जहाज चार्टर गरी नेपाल ल्याउने तयारी थालिएको छ ।

 

चीनको हुवेइ प्रान्तमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याउन लागिएको दूतावासले समेत जनाएको छ । हुवेइ प्रान्तमा रहेका नेपालीहरूको विवरण संकलन गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासले शनिवार एक जरूरी सूचना प्रकाशन गरेर नेपाल फर्कन चाहनेहरूलाई फारम भर्न भनेका हो । हुवेइमा रहेका १८८ जना विद्यार्थी र श्रम स्वीकृति लिएर कामदार भिसामा रहेका १० जना गरी कुल १९८ जना नेपालीहरू दूतावासको सम्पर्कमा आएका छन् ।

 

नेपालीहरूको उद्धारको लागि नेपाल एअरलाइन्स र हिमालयन एअरलाइन्सको जहाज तयारी अवस्थामा राखिएको छ । उद्धारका लागि नेपाल वायुसेवा निगमको विशेष जहाज प्रयोग गरिने बताईएको छ । सबैलाई भेला गरेर नेपाल ल्याउने तयारी रहेको दुतावासले जनाएको छ । यसरी सरकारले नेपाल फर्काउने कुरा गरेपछि वुहानमा रहेका विद्यार्थीहरु खुसी भएका छन् ।

 

त्यहाँ रहेका नेपालीहरुलाई नेपाल फकार्उनको लागि पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावाससँग प्रभावित क्षेत्रका विषयमा जानकारी लिइरहेको रहेको छ । अवगत गराउँदै भट्टराईले अहिलेसम्म नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताए । यता नेपालका लागि चिनियाँ राजदूतले शुक्रबार मन्त्रीसँग भेटवार्ता गरेकी थिइन् । नेपाल आउने पर्यटक र आउन चाहाने पर्यटकहरूलाई नेपाल सुरक्षित र ठीक छ भन्ने सन्देश प्रवाह गर्न पनि उनले सबैमा आग्रह गरेका छन् ।

 

यसैबीच नोबल कोरोना भाइरसको बढ्दो संक्रमणमाझ चीनमा रहेका नेपाली विद्यार्थीलाई घर फर्काउन बेइजिङस्थित नेपाली दूतावासले पहल थालेको पहिलो दिनमा ३५ जना विद्यार्थीले घर फर्कन आवेदन फारम भरेका छन् । हुबेई प्रान्तका वुहान, इनसी र सियानसहितका चार सहरमा १ सय ८८ नेपाली विद्यार्थी रहेको पछिल्लो जानकारी आएको र सबैजसो भाइरस संक्रमणबाट सुरक्षित रहेको जानकारी दूतावासले पाएको छ ।

 

यता, सरकारले भने चीनबाट फर्काइएका नेपालीलाई १५ दिन क्लोज क्याम्पमा राख्ने तयारी सँगै उनीहरुलाई राख्ने स्थानको बारेमा छलफल भईरहेको छ । भाइरसको संक्रमण भए र नभएको यकिन गर्न उनीहरूलाई अरूको सम्पर्कमा आउन नदिने गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको हो ।

 

चीनले नेपाल सरकारबाट १५ दिनसम्मको आइसोलेसन सुविधा पाउने सुनिश्चित भए मात्र आफ्नो मुलुकमा रहेका नेपालीलाई फर्काउन अनुमति दिनेछ । आइसोलेसनमा राख्दा हरेक व्यक्तिको केही निश्चित समय अवधिसम्मको शरीरको तापक्रम हेरेर ज्वरो देखिए छुट्टै राखी उपचार गराउने तयारी सरकारको छ ।

 

यो भन्दा अगाडी इबोलाको प्रकोप फैलिएका मुलुकहरुबाट फर्किएका सैनिकलाई शिवपुरी ब्यारेकमा क्वारेन्टाइनमा राखिएकोले यसपटक पनि उक्त स्थानलाई नै पहिलो सम्भावित स्थलका रुपमा हेरिएको समेत जनाएको छ ।

 

त्यसबाहेक राजधानी नजिकको सशस्त्र प्रहरीको ककनी र मातातीर्थ तालिम केन्द्र तथा सेनाको पाँचखालस्थित यूएन ट्रेनिङ सेन्टरलाई पनि ती विद्यार्थी राख्ने सम्भावित ठाउँका रूपमा हेरिएको छ ।

 

यस्तै स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएको बताएका छन्। उनले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने भएकाले व्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको बताएका हुन् ।

 

अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्न सक्ने भन्दै मन्त्री ढकालले भने, ‘१४–१५ दिनसम्म कयौँ बिरामीलाई हामीले राख्यौँ, तर त्यो रोगी रहेनछ भने निगरानीमा राख्न पनि मिल्छ, अस्पतालमा बिरामीको चाप बढेर लामो समय राख्न कठिन हुन्छ।’ उनले नयाँ व्यवस्थापन गरेर ब्यारेक तरीकामा राख्न सक्ने भन्दै अहिले विभिन्न ठाउँमा रहेका तालिम केन्द्रलाई व्यवस्थित गरेर त्यस्ता उपचार केन्द्र स्थापना गर्न पनि सकिने बताए।