‘पोखरा विमानस्थलको काम तोकिएको समयभन्दा ६ महिना अगाडि सकिन्छ’ : मन्त्री भट्टराई

तनहुँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले गरिबी अन्त्य तथा सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्नुपर्ने बेला आएकोे बताउनु भएको छ ।

 

बिज्ञापन

एक सय आठ फिट अग्लाे व्यासमूर्ति निर्माणका लागि व्यासक्षेत्र शिव पञ्चायन विकास कोषको आयोजनामा साेमबारदेखि तनहुँको दमौलीमा सुरु भएकाे महायज्ञको उद्घाटन गर्दै मन्त्री भट्टराईले देशकाे विकासका लागि सरकार कार्ययोजनासहित अगाडि बढेको दाबी गर्नुभयाे ।

 

मन्त्री भट्टराईले वैदेशिक व्यापार घाटा सन्तुलनमा ल्याउने, पूर्वाधार विकास, ऊर्जाको विकासमा जोड दिइएको भन्दै ऊर्जामा नेपाल आत्मनिर्भरताको बाटोमा अगाडि बढिसकेको बताउनु भयो । काठमाण्डाैमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले मात्र चाप धान्न नसक्ने भएकाले भैरहवा, पोखरा र निजगढमा विमानस्थल निर्माणलाई तीव्रता दिइएको उहाँले प्रस्ट पार्नुभयाे ।

 

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने तयारी भैसकेको भन्दै मन्त्री भट्टराईले पोखरा विमानस्थलको काम तोकिएको समयभन्दा ६ महिना अगाडि नै सकिने बताउनु भयो । निर्माणाधीन विमानस्थलले नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

 

दमौलीमा निर्माण गर्न लागिएको वेदव्यासको एक सय आठ फिटको मूर्तिले धार्मिक पर्यटनमा भूमिका खेल्ने भएकाले आउँदाे बजेटमा सरकारका तर्फबाट पर्याप्त बजेट विनियोजन गरिने मन्त्री भट्टराईले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

नेपाल धार्मिक सहिष्णुतायुक्त देश भएकाले अन्य धर्मका मानिस पनि मूर्ति अवलोकनका लागि आउने र यसले समग्र तनहुँकै पर्यटनमा योगदान पुग्ने उहाँको भनाइ थियो । मन्त्री भट्टराईले पुरानो मौलिक शहर बन्दीपुर, धार्मिक ऐतिहासिक स्थल देवघाट, आदिकविको जन्मस्थल चुँदी रम्घालाई व्यवस्थितरुपमा विकास गर्ने सरकारको सोच रहेको याे जानकारी गराउनु भयो ।

 

व्यास मूर्तिसहित सबै संरचना निर्माणका लागि ६२ करोड ८५ लाख पाँच हजार दुई सय ११ रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।