बलात्कार गरी हत्या गर्ने ४ जनालाई जन्मकैद फैसला

कैलालीको मसुरियाकी युवती माया विकको बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई जन्मकैद फैसला भएको छ । कैलाली जिल्ला अदालतले उक्त मुद्दामा थप एक जनालाई ५ वर्षको कैद सजाय हुने फैसला गरेको छ ।

 

बिज्ञापन

जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले गौरीगंगा–११, का सुरज चौधरी, भुवन खाती, गणेश बडुवाल र मनोज बोगटीलाई बलात्कारपछि हत्या गरेको भन्दै कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेर जन्मकैदको फैसला गरेको हो ।

 

कर्तव्य ज्यानतर्फ जन्मकैदको सजाय भएका सुरज र भुवन जबर्जस्ती करणीतर्फको मुद्दामा पनि दोषी ठहर भएको तहसिलदार नेगीले बताए ।

 

घटनामा संलग्न नभएको तर प्रत्यक्ष थाहा पाए पनि जानकारी नदिएको भन्दै तपेन्द्र बोगटीलाई पनि ५ वर्षको कैद सजाय फैसला भएको छ । माया विकको बलात्कार गरी हत्या घटनामा ५ जनाविरुद्ध जबर्जस्ती करणी, अपहरण र कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता भएको थियो ।

 

अपहरणमा भने कसुर ठहर नभएको नेगीले बताए । जबर्जस्ती करणीमा दोषी ठहर २ जनाको यो मुद्दाको सजायको फैसला १२ फागुनको पेशीले तोक्ने अदालतले जनाएको थियो । तर, दुवै जनालाई कर्तव्य ज्यानतर्फ जन्मकैदको फैसला भइसकेकाले जबर्जस्ती करणीको सजाय जोडिने छैन । मायाको डेढ वर्षअघि बलात्कार गरी हत्या भएको थियो ।