
काठमाडौं : महानगरीय ट्राफिक महाशाखाले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा जोड दिने भएको छ । आज (आइतबार) महाशाखामा आयोजित पत्रकार सम्मेलामा प्रमुख एसएसपी भीम प्रसाद ढकालले महाशाखाको आगामी योजनाहरुको बारेमा जानकारी दिँदै ट्रफिक लाइट, सिसिटिभि, अनलाइन सेवा र एफएम क्षमताको वृद्धि गर्ने बताएका हुन् ।
त्यसैगरी सडक पूर्वाधार विकासमा जोड, जनचेतना अभिवृद्धि कार्यलाई व्यापकता, कोटेश्वर सडकमा थप लेन निर्माण र पैदलयात्रीको दुर्घटनालाई न्यूनीकरण तर्फ विषेश प्रथमिकता दिने बताए ।
ट्राफिकमैत्री सडकका लागि ३९ बुँदे अल्पकालीन सडक सुधार कार्ययोजनालाई कार्यान्वयन गरि पुरा गरिने उनको भनाई थियो ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित चुस्त बनाउन ९ वर्षदेखि विग्रेर रहेका १७ स्थानका ट्राफिक लाइट सञ्चालन भएका छन् । बाँकी स्थानमा पनि मर्मत गर्ने र नभएका स्थानहरूमा जडान गर्ने महाशाखाले जनाएको छ ।
जथाभावी पार्किङ गर्ने १६ हजार १ सय ४५ सवारी साधन कारवाहीमा परेका छन् ।
तीव्रगति र लापरवाहीका साथ ट्रिपर चलाउने, ओभरलोड बोक्ने, झल्लर र थप फोकस लाइट हालने ३ हजार ८ सय ४१ ट्रिपरलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । साथै ट्रिपरबाट हुने दुर्घटना न्यूनीकरण गर्नका लागि उपत्यका भित्र बिहान ७ बजेदेखि बेलूका ८ बजेसम्म ट्रिपर प्रवेशमा रोक लगाइएको छ ।