रवीन्द्र अधिकारी चढेको हेलिकप्टर उडानमा भएकोे त्रुटिसहितको प्रतिवेदन सार्वजनिक ; दुर्घटनाको मुख्य कारक पाइलट

काठमाडौं : गत फागुन १५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

 

हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो । अत्याधिक हिमपात र मौसम खराबीका कारण दुर्घटना भएको बताइएको थियो ।

 

यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त दुर्घटनाको छानविन गर्नका लागि पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा बनाएको समितिले प्रतिवेदन प्रकाशित गरेको छ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष रहेको छ ।

 

पाथिभरा क्षेत्रको मौसम खराब हुँदा सोही समयमा ताप्लेजुङ एयरपोर्ट समेत बन्द भएको थियो। विमानस्थलको भिजिबिलिटी नै २ किलोमिटर हुँदा टावर बन्द भएको थियो। मौसम खराब भएकै कारणले पाइलटले हेलिकप्टर पुनः पाथिभरा हेलिप्याडमै लिन खोजेको हुन सक्ने अनुमान समितिको रहेको छ ।

 

प्रतिवेदनले पाथीभराबाट फर्किंदा इन्जिन स्टार्ट गरेलगत्तै क्याप्टेनले क्विक टेकअफ (लगत्तै जहाज उडाउनु) लाई युफोरियाको प्रभावको कारण भनेको छ । उडानका क्रममा अक्सिजनको अभावका कारण हुने हाइपोक्सियाभन्दा अघिको चरणलाई युफोरिया भनिन्छ । हेलिकप्टरका पाइलट प्रभाकर केसी तालिमप्राप्त र सबै मापदण्ड पूरा गरेको प्रतिवदेनमा उल्लेख छ । तर पाइलटले सुरुमा एटीएस रिपोर्टिङ अफिसमा सुरुमा पाँचथर उडानका लागि अनुमति लिए पनि उडाउने बेलामा रेडियोमार्फत तेह्रथुम जान लागेको जानकारी दिएको प्रतिवेदनमा उल्लेख छ । पाइलट निकै हतार गरेर तेह्रथुमका लागि उडान भरेको प्रतिवेदनमा उल्लेख छ ।

 

प्रतिवेदनका अनुसार पाइलटले अगाडिको सिटमा दुई जना यात्रु राख्‍दा उनीहरुको तौलको मापन राम्रोसँग नगर्दा गुरुत्वाकर्षणको केन्द्रको मूल्यांकन सही ढंगले गर्न नसकेको पनि देखिएको छ । उच्च हिमाली भूभागमा उडानका बेला पहिले भएका दुर्घटनामा पनि गुरुत्वाकर्षणको सन्तुलन नमिल्दा त्यसले उडानलाई असुरक्षित बनाउने गरेको देखिएको थियो ।

 

प्रतिवेदनले दुर्घटनाको कारण प्रतिकूल मौसम पनि भएको उल्लेख गरेको छ । त्यस दिन पाथीभरामा हिउँ परिरहेको र हावाको वेग पनि उच्च रहेको तथा भिजिबिलिटी पनि कम रहेको थियो । मौसमको प्रतिकूलता र हेलिकप्टरले पूर्ण यात्रु क्षमतामा उडान भरेका कारण अगाडिको सिसामा वाफ जमेको हुन सक्ने र त्यसका कारण पनि पाइलटले बाहिरको दृश्य ठम्याउन नसकेको निष्कर्ष छानबिन आयोगले निकालेको छ ।

 

हेलिकप्टरमा काठमाडौं/तेह्रथुम/काठमाडौं उडानका लागि मात्रै इन्धनको व्यवस्था गरेको देखिएकाले पाथिभरा उडानको पूर्वयोजना नभएको पनि प्रतिवेदनमा उल्लेख छ ।

 

पाइलटमा कुनै पूर्ववत् स्वास्थ्य समस्या नरहेको भए पनि दुर्घटना हुनुपूर्व उनको शरीरमा अक्सिजनको कमी भएको हुन सक्ने आँकलन आयोगले गरेको छ । जसका कारण हेलिकप्टरमा कुनै प्राविधिक तथा बाहिरी ढाँचामा समस्या नभए पनि पाइलटको निर्णय क्षमतामा ह्रास आएको हुन सक्छ ।

 

हेलिकप्टर सिधै नउडी घुमेर हेलिप्याड नजिकै पुगेको समितिले जनाएको छ। दुर्घटनाको छानविन गर्न गठित समितिले उक्त हेलिकप्टर जमिन छाडेको ३५ सेकेन्डमै दुर्घटनामा परेको निष्कर्ष निकालेका हो ।

 

पाथिभरा हेलिप्याडबाट उड्नेवित्तिकै उक्त हेलिकप्टर शक्तिशाली हावासँग जुधेको र हिमपात पनि भइरहेकाले पाइलटले परिस्थितिजन्य सावधानी गुमाएको र दुर्घटना भएको समितिको प्रतिबेदनमा उल्लेख छ । दुर्घटनास्थल र हेलिप्याडबीचको दुरी ०.२ नटिकल माइलमात्र (३७० मिटर) रहेको छ। हेलिकप्टरले राउन्ड लगाएको प्रतिवेदनले देखाएको छ।