
सुनसरीको चतरास्थित सप्तकोसी नदीमा बन्द गरिएका जेटबोटहरू पुनः सञ्चालनमा आएका छन् ।




सुनसरीको चतराबाट सप्तकोसी नदीमा सञ्चालन हुँदै आएको मोटर बोट तथा जेट बोटहरूले सेवालाई पुनः निरन्तरता दिएका छन् । व्यावसायिक असुरक्षा बढेको र जल यातायातसम्बन्धी स्पष्ट कानुन नभएका कारण लगानी अन्योलपूर्ण भएको भन्दै सम्बद्ध व्यवसायीहरूले गएको २९ माघबाट सेवा अवरुद्ध गर्दै आन्दोलनमा उत्रिएका थिए ।

व्यवसायीहरूले उठाएका केही मागहरूलाई प्रदेश सरकारले सम्बोधन गरिसकेको र बाँकी मागहरू पूरा गर्ने आश्वासन पाएपछि व्यवसायीहरूले सेवालाई निरन्तरता दिएका हुन् । हाल सुनसरीको चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सिमाना हतुवागढीसम्म जेट बोटहरू सञ्चालन हुँदै आएका छन् ।
जेट बोटहरू सञ्चालन भएयता भोजपुरलगायतका क्षेत्रका सर्वसाधारणको आउजाउ र मालसामान ओसार्न सहज भएको हतुवागढी– ९ भोजुरका सन्तोष राईले बताए । ‘पानी जहाजले हामीलाई निकै सहज भएको छ । भिरै भिरको अप्ठ्यारो बाटो घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो । केही दिनअघि मात्र जेट बोट बन्द हुँदा निकै अप्ठ्यारो भएको थियो’, उनले भने ।
पुनः सञ्चालनमा आएपछि अब केही मिनेटमै चतराबाट भोजपुरसम्म पुग्न सकिन्छ । यसमा आफूहरू निकै खुसी भएको उनको भनाइ छ ।
सप्तकोसीको २१ किलोमिटर जलक्षेत्रमा सञ्चालनमा रहेका ७ वटा जेट बोटमध्ये ३ वटा बिग्रिएका कारण हाल ४ वटा मात्र सञ्चालनमा रहेको सप्तकोसी टुरिज्म एण्ड वाटर ट्रान्सपोर्टेसन प्रालिका सञ्चालक तथा नेपाल जल यातायात व्यवसायी महासंघका सदस्य राजेन्द्र कार्कीले जानकारी दिए ।
‘बिग्रिएका जेट बोटहरूको मर्मत सम्भार चलिरहेको छ । ७० जना अट्ने जेट बोटसमेत छ्टिटै सञ्चालन गर्ने तयारीमा हामी छौँ’, उनले भने, ‘अहिले दैनिक ३ सय यात्रु र २ सय पर्यटकलाई सेवा पुर्याउँदै आएका छौँ ।’
चतराबाट सुरु हुने जलयात्रा मार्गमा बराहक्षेत्रको दर्शन गर्न पाउनुका साथै निर्माणाधीन कोलुङ झर्नाको पहुँच मार्ग, त्रिवेणी र माइबेनीलगायतका पवित्र तीर्थस्थलहरूको समेत अवलोकन गर्ने अवसर प्राप्त हुन्छ ।
यसका साथै दुर्गम जिल्लाका सर्वसाधारणले सहज रूपमा सुगम जिल्लाका साथै प्रदेश १ को राजधानी विराटनगरलगायतका क्षेत्रसम्मको पहुँच जलयात्रा मार्गले नजिक र सहज बनाएको छ ।