प्रदेश सरकारले ल्याएको नीति संघीय सरकारले समेत अनुशरण गरेको छ :  मन्त्री कार्की

दमक/  झापाको दमक –६ स्थित दमक बसपार्क भित्र निर्माण गरिएको दमक बसपार्क एकीकृत काउण्टरको आज विधिवत उद्घाटन गरिएको छ ।

 

बिज्ञापन

बसपार्क परिसरमा निर्माण गरिएको आधुनिक टर्मिनल भवन भित्र बसपार्क काउण्टरको प्रदश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नुभएको हो ।

 

दमक नगरपालिका यातायात तथा ट्राफिक व्यवस्थापन समितिले गरेको कार्यक्रममा प्रमुख अतिथी मन्त्री कार्कीले प्रदेश सरकार यातायात तथा ट्राफिक व्यवस्थापनको कामलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनु भयो ।
उहाँले सडक सुशासनका निम्ति आवश्यक ऐन कानुनहरु निर्माणलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

 

उहाँले प्रदेश १ अन्तर्गत दमकको ताराबारी, इलाम र झापाको सिमाना किटेनी लगायतका ठाउँहरुमा यातायात चालकहरुका लागि रिफ्रेसमेन्ट सेन्टर स्थापना गरिएको बताउँदै प्रदेश सरकारले ल्याएको सडक सुशासनको नीतिको संघीय सरकारले समेत अनुशरण गरेको मन्त्री कार्कीको दाबी छ ।

 

उहाँले प्रहरीको जागिरमा आकर्षण घट्दो रहेका कारण पर्याप्त जनशक्ति व्यवस्थापन हुन नसकेकाले छिट्टै प्रदेश प्रहरी ऐन ल्याएर प्रहरी जनशक्ति बन्दोबस्ती गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनु भयो ।

 

उद्घाटन कार्यक्रममा नेकपा नेता एवम् संविधान सभा सदस्य दिपक कार्कीले मुलुकमा स्थिर सरकारको आवश्यकता महसुस भएर नै जनताले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने म्याण्डेड दिएको स्मरण गराउँदै नेकपा भित्रको आन्तरिक कारणनै सरकारलाई अस्थिर बनाउने खेल शुरु हुनु दुखद भएको बताउनु भयो ।

 

उहाँले अहिलेको नेकपा भित्रको सरकार परिवर्तनको खेललाई २०५६ सालमा नेपाली कांग्रेसका कारण कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्दाको परिस्थितीसंग तुलना गर्दा निम्तिएको परिस्थितीसंग तुलना गर्दै त्यसलाई नेपाली राजनीतिको आकाश भित्र मडारिएको कालो बादल भनि टिप्पणी गर्नुभयो ।

 

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, दमक ६ का वडाध्यक्ष टेक बहादुर थापा, यातायात व्यवसायी हुकुमसिंह नेपाली लगायतले पनि बोलेका थिए ।